× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

अख्तियारले राजनीतिक प्रतिशोध लिन मुद्दा चलायो : गच्छदार

Simrik Online

५ आश्विन २०७८, बुधबार

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललितानिवास प्रकरणमा आँफूले कुनैपनि भ्रष्टाचारजन्य काम नगरेको भन्दै सत्यतथ्य बाहिर ल्याइदिन सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। बुधबार सिद्धार्थ कटेज तीनकुने काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारको गुरूयोजना कार्यान्वयन गर्न प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारमा विभागीय मन्त्रीको हैसियतले आफूले टिप्पणी मात्र अघि बढाएको र उक्त प्रस्ताव मन्त्रिपरिषद बाट सर्वसम्मत निर्णय भएको बताए।

‘सरकारको गुरूयोजना कार्यान्वयन गर्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार उक्त फायल अघि बढेको हो र आँफूले टिप्पणी मात्र पेस गरेको हो, त्यो प्रस्ताव मन्त्रिपरिषदबाट सर्वसम्मत रूपमा पारित भएको हो’, पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘व्यक्तिगत रूपमा लाभ लिने वा सरकारलाई हानी पुर्‍याउने उद्देश्य मेरो नभएकोले सरकारको गुरूयोजना पेस गर्नु भ्रष्टाचार हुनै सक्दैन।’

विजयकुमार गच्छदारले ललितानिवास प्रकरणमा आँफूमाथि राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरूपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको भन्दै त्यसक्रममा मुद्दा चलाउँदा निष्पक्ष नभएको समेत बताए। ‘छानीछानी मुद्दा चलाइएको छ। काखा र पाखा गरिएको छ। राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ’, गच्छदारले आँफू लोकतन्त्रप्रति विश्वास राख्ने भन्दै स्वतन्त्र र निष्पक्ष न्याय पाउनेमा आँफू आशावादी रहेको पनि बताए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ माघ २२मा गच्छदारसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनले कुत्सित भावना र राजनीतिक जीवन समाप्त पार्ने उद्देश्यले आँफूमाथि मुद्दा दायर गरिएको भन्दै आँफूविरुद्ध लगाएका आरोपहरू षड्यन्त्र हुन् भन्ने पुष्टि हुँदैजाने बताए। पत्रकार सम्मेलनमा आँफूविरुद्ध दायर मुद्दाको फाइलहरू अध्ययनपछि बद्नियतबारे यथार्थ थाहा हुने भन्दै पत्रकारहरूलाई आग्रह गरेका छन्।