काठमाडौं । फूलैफूल र उज्यालोमय बनेर वर्षैपिच्छे कार्तिक कृष्णत्रयोदशीदेखि शुरू हुने संसारभरका हिन्दुहरूको दोस्रो ठूलो पर्व यमपञ्चक, दिपावली अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ। यसपालिको दिपावलीमा मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यसवर्ष यमदीपदान आजदेखि शुरु हुने भएपनि काग र कुकुर तिहार बुधबार परेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताएका छन्।
बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ। बुधबार बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ। त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ। बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवम् मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो। “सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन कागतिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,” अधिकारीले भने।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ। तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ। यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताउछन्। कात्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ।
यसपालि कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मीपूजा गर्नुपर्छ। बिहीबार बिहान अरूणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ, यसलाई नरक स्नान भनिन्छ। यसदिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँवर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको गौतमले बताए। यसैदिनदेखि नेपाल संवत् ११४२ सुरु हुन्छ।