काठमाडौं । नेपाली सेनाले सकलदर्जालाई आवास कर्जा दिन सुरु गरेको छ। आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले चेक हस्तान्तरण गर्दै ‘सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’को औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।
सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका, श्रीमान् वा श्रीमतीको नाममा नेपालभित्र आफ्नो घर नरहेका बहालवाला सकलदर्जाहरुलाई अत्यधिक सहुलियतपूर्ण ब्याजदर (जम्मा ३.३२%) मा यो कर्जा दिन थालिएको हो।
भवन निर्माण गर्न वा घर खरीद गर्न रु.२५ लाखसम्मको आवासकर्जा उपलब्ध गराउने सेनाले जनाएको छ। हालसम्म २० जनाले उक्त सुविधाको लागि आवेदन दिइसकेको र त्यसमध्ये ७जनाको प्रकृया पूरा भई बैंकमा सिफारिस भइसकेको छ भने अन्य आवेदनहरु प्राप्तहुने क्रममा रहेको सेनाले जनाएको छ।
प्रधानसेनापति शर्माले पदबहालीपछि सकल दर्जालाई गरेको पहिलो सम्बोधनका क्रममा उक्त आवास कर्जा कार्यक्रम लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। २२ कात्तिकमा कर्जाको सहमति पत्रमा प्रतिस्पर्धाका आधारमा छनोट भएका राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान तथा नेपाली सेनाबीच हस्ताक्षर भएको थियो।
यसरी पाउँछन् सेनाका सकलदर्जाले सहुलियत आवास ऋण
आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सकलदर्जाहरुलाई दोस्रोपक्षले धितो मूल्यांकनको आधारमा घर खरीद गर्न एकमुष्ठ र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोश्रो तथा अन्तिम किस्ता ३०/३० प्रतिशतका दरले निर्माण प्रगतिको आधारमा प्रवाह गर्नेछ।
कर्जा सुविधा उपभोगका लागि तोकिएको योग्यता पुगेका सकलदर्जाहरुले काठमाडौं उपत्यकाको हकमा सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा अन्तर्गत रहेको “आवास कर्जा कार्यान्वयन इकाई“ र उपत्यका बाहिरको हकमा पायक पर्ने नेपाली सेनाको युनिट वा कल्याणकारी बोर्ड अन्तरगतका हिताधिकारी कल्याण केन्द्रहरुमा आवेदन दिन सक्नेछन्।
साथै, सेनाले आफ्ना सकलदर्जा तथा हिताधिकारीहरुको सेवासुविधाको दायरालाई फराकिलो बनाउँदै विगतमा कक्षा ६ देखि वितरण गर्दै आइरहेको कल्याणकारी छात्रवृत्तिलाई कक्षा ४ देखि नै वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
प्रदेशहरुमा सैनिक अस्पताल र सैनिक महाविद्यालयको सुविधा प्रदान गर्ने हेतुले लुम्बिनी प्रदेशमा समेत सैनिक फिल्ड अस्पताल र सैनिक आवासिय महाविद्यालय स्थापना गर्ने योजना कार्यान्वयनको क्रममा रहेको पनि सेनाले जनाएको छ।