मानिसमा हुने क्रियाशीलता नै कर्म हो। कर्म व्यक्तिसापेक्ष भएर पनि प्राकृतिक प्रक्रिया नै हो। मानिसको जन्म र रहनसहन प्रकृतिसंगको अन्तरंग सम्बन्धबाट निर्धारण हुने भएकोले मानिसको स्वभाव पनि प्रकृति जस्तै चंचल, परिवर्तनशील र सिर्जनशील छ। जानिदो वा नजानिदो हिसाबले कर्म भैरहन्छन्। अभिरुचि र चासो राख्दैमा पनि परिणामको रुपमा प्रतिफल चाहेजस्तो हुने नहुने केही निश्चित हुंदैन। आशा राखेर वा नराखिकन र उद्देश्यहीन भएर गरिंदा पनि कर्म नै हुन्छ। जन्मिनु, बाँच्नु, बाँच्नको लागि वाञ्छित प्रयास गर्नु यी यावत् कुरा अनायास हुने विषय हुन्। यो बाहेक जिज्ञासा र प्राप्तिको आकांक्षा जस्ता कुराले पनि मानिसलाइ काम गर्न प्रेरित गर्ने भएकोले मानिसमा निस्क्रियता रहंदैन र सक्रिय हुनु नै कर्म हो र रुपान्तरणको प्रक्रिया पनि यही हो।
कर्मको विषयमा श्रीमद्भगवद्गीतामा विस्तृत विवेचना भएको छ। आध्यात्मिक दृष्टिकोणबाट लौकिक, पारलौकिक र पारमार्थिक जीवनलाइ केन्द्रमा राखेर कर्मको विषयमा भएको विष्लेषण मानिसको व्यावहारिक जीवनसंग प्रत्यक्ष मेल खाइ सरोकारमा रहेर प्रयोगमा आएको र आउने अनुभूत गर्न सकिन्छ। पाण्डुपुत्र अर्जुन कर्म भन्दा ज्ञानको बाटोलाइ श्रेयस्कर ठानेर कर्म प्रति तत्परताको भाव नराखेको सन्दर्भमा भगवान् श्रीकृष्णबाट कर्म र ज्ञान दुवै जीवनमा श्रेयस्कर हुन् तरपनि कर्मको बाटो नै मानिसको जीवनलाइ सार्थक र उत्कृष्ट बनाउन बढी व्यावहारिक भएको, अथ्र्याइएको छ। भौतिक र परमार्थिक संसार फरक पाटो भएकोले सांसारिक विषयमा आसक्त भएको जीव जस्तै व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको मानिसको स्वभावले समाजमा हुनुपर्ने समन्वय र सद्भाव जस्ता कुरामा सहयोग पुग्न नसक्नेहुंदा जीवको उद्धारका विविध पक्ष औंल्याउंदै कर्मयोगबाट नै सजिलैसंग परमात्मासंग तादात्म्य हुने लक्ष प्राप्त गर्न सकिन्छ भनिएजस्तै व्यक्तिगत र समाजको समग्र उत्थानको लागि मानिसमा कर्ममा तत्परता, उदारता र त्याग जस्ता गुण रहनुपर्ने सन्देश प्रवाहित छ।
जीवनमा गरिने कर्म :
मानिसको जीवनमा जन्मदेखि मृत्यु पर्यन्त सम्म गरिने कामकर्तव्य असीमित छन्। वैदिक धर्ममा मानिसको १०० वर्ष उमेरको कालखण्डलाइ चार चरणमा विभाजन गरी ब्रह्मचर्य, गृहस्थ, बानप्रस्थ र संन्यास यी तहलाइ २५ २५ वर्षको अवधि किटान गरी वर्णाश्रम व्यवस्था निर्धारण गर्नुको कारण निश्चित उमेरमा निश्चित कामकर्तव्य गर्नैपर्छ भनी जीवनलाइ व्यवस्थित गर्नको लागि भएको होला। आजभोली आश्रमको व्यवस्था प्रयोगमा नआएपनि उमेरको हिसाबले ज्ञान आर्जन, आर्जित ज्ञानको व्यावहारिक प्रयोग र सक्रियता, सक्रिय जीवनबाट विराम र अन्तमा जीवन विसर्जन हुनु यो नियतीको यथार्थ थाहा नै छ। जीवनमा आवश्यक पर्ने यावत् विषयको अध्ययन, ज्ञान, व्यवहारमा काम लाग्ने कला कौशल, जीविकाको लागि आर्जन र पूर्वाधार जस्ता विषयमा सैद्धान्तिक रुपमा निपुण हुने अवस्था उमेरको पहिलो चरण हो। जीवनको दोश्रो चरण मानव जीवनको प्रयोगात्मक कालखण्ड हो र अधिक सक्रिय रहने अवस्था पनि हो। यस उमेरमा प्रवेश गरेपछि आँफूले प्राप्त गरेको ज्ञान र सीपको आधारमा जीवनलाइ प्रयोगमा ल्याउनु हो। जीवनमा गर्नुपर्ने कामकर्तव्य सबै यही चरणमा गरिन्छ। पेशा, व्यवसाय, आर्जन जस्ता कुरा पनि यसै चरणमा हुन्छन्। विवाह दाम्पत्य जीवन सन्तति पनि यसै चरणका उपज हुन्। दायित्व वहन गरी जीवनलाइ भरिपूर्ण र उपलब्धिमूलक बनाउने तह पनि यही हो। उमेरको यस चरणमा गर्नुपर्ने काम कर्तव्य पुरा गरेपछि र उमेर ५० पुगेपछि उमेरको तेश्रोचरणमा प्रवेश गरिन्छ। पेशागत रुपमा रहेको सक्रियता, पारिवारिक नेतृत्व र जिम्मेवारीबाट अवकाश लिने उमेर भएकोले यस कालखण्डमा पहिले प्राप्त गरेको ज्ञान र अनुभवलाइ उत्तराधिकारी सम्म पु-याएर निर्दिष्ट पनि गरिन्छ। घर परिवार संगको सम्बन्ध र जिम्मेवारीलाइ क्रमश बिसाएर र सुम्पिएर यस भन्दा अगाडिको जीवनलाइ खुशी र तनावरहित बनाउन वातावरण तयार गर्ने उमेरको तेश्रो चरण हो भनिन्छ। पारिवारिक दायित्वको हस्तान्तण र कुनै अपेक्षा नराखिकन सीमित श्रोत साधनको प्रयोग गरी जीवन यापन गर्नु, नेतृत्व, नियन्त्रण र जिम्मेवारीबाट पृथक् हुनु र स्वाध्यायमा लाग्ने हो। सम्बन्ध प्रतिको ममता, आसक्ति जस्ता विषयमा विराम लगाउन प्रयत्न गर्ने अवधि र आंफूसंग भएको भौतिक संपत्ति अरुको हितमा वितरण गर्ने समय पनि हो। उमेर ७५ पुगेपछि जीवनको चौथो चरणमा लाग्नुको अर्थ पारिवारिक आसक्ति र ममतालाइ बिर्सनु र विगतलाइ विराम दिनु पनि हो। उमेरको यसै चरणमा नै पारमार्थिक उत्थानको प्रयास र सुख शान्तिको अनुभव गरी आध्यात्मिक अर्थमा परमात्मासंग तादात्म्य सक्बन्ध राखी अथवा जीवनको अन्तिम क्षण आएको संझी जीवनलाइ विसर्जन गर्न तयार हुने हो।
जीवनको लक्ष र कर्म :
मानव जीवनमा प्राप्त हुनेगरी धर्म, अर्थ, काम, मोक्ष जस्ता विषय पुरुषार्थको रुपमा वर्णित छन्। यी एक-अर्कासंग अन्तर सम्बन्धित छन् र यिनको नियन्त्रण र सन्तुलनबाट मात्र जीवन व्यवस्थित हुन्छ। मनुष्य जीवनमा जन्म लिनुको अर्थ नै पुरुषार्थको सिद्धी हो भन्ने शास्त्रीय दृष्टिकोण हो। पुरुषार्थ जीवन यापनमा सार्थक परिणाम ल्याउने कारकको रुपमा रहेकोले प्रयोग र उपलब्धि वाञ्छित मानिन्छ। कसैलाइ अप्ठ्यारो नपारीकन धर्मको बाटो नबिराइ धन आर्जन गरी भोग गर्नु र धनको प्रयोग आफ्नो स्वार्थमा मात्र सीमित नरही अरुको हितको निमित्त खर्चिंदा उपकार हुने भएकोले सदुपयोगको साथै सेवा पनि हुन्छ भनिन्छ। धर्मको पालना र अनुष्ठान व्यक्तिगत इच्छापूर्तिको निमित्त नभएर अन्तकरणको शुद्धिको लागि हो भन्ने कुरा पनि बुझ्न आवश्यक मानिन्छ। धर्म र अर्थमा अनावश्यक आकांक्षा राख्दा वा आफ्नो निहीत स्वार्थको निमित्त प्रयोग हुंदा अनर्थ हुने संभावना पनि रहन्छ। आत्मसंयम विनाको अनियन्त्रित भोगले अनिष्ट निम्त्याउने हुँदा भोगमा नियन्त्रण र संयम राख्न प्रेरित गर्ने विषय धर्म भएकोले अनुशरण गर्नुपर्छ भनिन्छ। बिधिसम्मत रुपमा धन आर्जन गर्ने र बिधिसम्मत रुपमा मर्यादा अनुकूल भोग गर्दा नै जीवन सन्तुलित रहने भएकोले सबैको निमित्त अपेक्षित मानिन्छ। मोक्षको व्यावहारिक स्वरुप जीवनमा गरेका कामबाट आत्मसन्तोष लिने, सम्बन्ध र भौतिक उपलब्धि प्रतिको मोहलाइ त्याग गरी न्यूनतम साधनबाट जीवन निर्वाह गरी जीवनलाइ सार्थक बनाउनु हो।
कर्मको आवश्यकता :
कर्म किन गरिन्छ ? भन्ने प्रश्नको अधिकांश व्यक्तिबाट पाइने जवाफ प्रतिफल प्राप्तिको निमित्त हो भन्ने कुरामा संशय छैन। कर्म परिणाम विहीन पनि हुंदैन। मानिस कर्मको अनुकूल परिणामको आशामा रहने भएकोले कर्म नगरी केही प्राप्ति नहुने सोेचको कारणबाट कर्म गर्नुपर्ने बाध्यता रहेको ठान्छ। मानिसमा दायित्व अन्तरनीहित भएको कारण मानिसले कर्तव्य कर्म गरिरहनु पर्छ यो पनि वास्तविकता हो। राज्य, समाज, परिवार, परिवेश र स्वयं आफ्नै निमित्त पनि काम गर्नुपर्छ। काम नगर्दा जीवन निर्वाह पनि हुंदैन यो व्यावहारिक पक्ष हो। राज्यले नागरिकलाइ अधिकार प्रदान गर्दा नागरिकले राज्य प्रतिको कर्तव्य निर्वाह होस् भन्ने अपेक्षा राख्ने भएकोले अधिकार संग कर्तव्य जोडिएको छ भन्ने पनि मनन गर्ने विषय हो। अधिकार खोज्ने अनि कर्तव्य गर्न अनिच्छुक रहने प्रवृत्ति उचित होइन। व्यक्तिगत हितको निमित्त गरिने कर्मले आफ्नो पक्षपोषण गर्छ भने सामुहिक हितको निमित्त गरिने कर्मले परिवेश, समाज र राज्य नै प्रभावित हुन्छ। आफ्नो जीवन यापन त मानिस इतरका प्राणीबाट पनि भैरहेको छ। त्यसैले मानिसको कामकर्तव्य आंफ्नो स्वार्थमा मात्र सीमित नरही परहितमा लाग्नु हो भन्ने अवधारणाको रुपान्तरण अहिलेको समाजसेवा हो।
मथि उल्लेख भए कर्म र कर्मको प्रकृति : जस्तै कर्म गरेपछि कर्मको परिणाम भोग्नुपर्छ यो निश्चित हो। कर्मलाइ सुकर्म र कुकर्मको रुपमा पनि प्रस्तुत गरिन्छ। सुकर्म अनुकूल हो भने कुकर्म प्रतिकूल हो। देश काल परिस्थिति अनुसार पनि कर्मको प्रकृति फरक हुन्छ। मानिसको उमेर अनुसार पनि कर्म फरक हुन्छ। मानिसको जन्मदेखि मृत्यु पर्यन्त मात्र नभै जन्मिनु भन्दा पूर्व र मृत्युपछि पनि गरिनुपर्ने कर्म संस्कारको रुपमा वर्णित छन्। राज्य समाज परिवार र आंफै प्रति गरिने कर्तव्य पनि फरक छन्। व्यवहार चलाउन गरिने कर्म अनिवार्य हुन्छ भने सामुहिक हितको उद्देश्य राखेर गरिने कर्म बाध्यात्मक हुँदैन तरपनि उपकारको दृष्टिकोणबाट परम्परागत संस्कृतिको अनुशरण गर्नुपर्दा त्यस्ता कर्म पनि नगरि हुँदैन। सुकर्म गर्दाको परिणाम यस जन्ममा आत्मसंतोष रहने र मृत्युपछि यश कीर्ति रहने देखिएको छ। कुकर्म गर्दा यस जन्ममा आरोप, पश्चात्ताप र मृत्युपछि अपयस भैरहन्छ। सुकर्म र कुकर्मको परिभाषा धर्मशास्त्रमा उल्लेख भए जस्तै राज्य निर्मित कानूनमा पनि गनुपर्ने र गर्न नहुने कामको परिभाषा गरिएको छ। गर्नुपर्ने कर्तव्य नगरेमा र नगर्नुपर्ने काम गरेमा दण्डित हुने व्यवस्था गरिएकोले पनि गर्न हुने र गर्न नहुने कर्मको प्रकृति निर्धारित छ र परिणाम पनि भोग्नुपर्छ ।
वर्ण अनुसारको कर्म :
समाजमा चार वर्ण प्रचलित छन् र वर्ण अनुसारको कर्म गर्नुपर्ने गरी निर्धारण हुनु स्वाभाविक हो। अहिलेको समाज मुख्यत ब्राह्मण क्षत्री वैश्य शुद्र यी चार वर्णमा विभाजित छ। अहिलेको वर्णविभाजन कसरी र कुन आधारमा जन्मजात रुपमा निर्धारण भएको हो र यस्तो परम्परा प्रचलनमा कहिलेदेखि आएको किटान छैन। यस किसिमको विभाजन न्यायसम्मत नभएको ठानेर नै मानिसका बीचमा कोरिएको यो तलमाथिको रेखा मेटाउने प्रयास भैरहेपनि पूर्णत मेटिएको छैन। मानिस जन्मदा समान हैसियतमा रहने वास्तविकतालाइ उपेक्षा गरेर जन्मजात रुपमा उच्च र निम्न वर्गको भनी परिभाषित गर्ने क्रिया नै समन्वय र सद्भावको खिलाफ हो। कर्म, गुण र संस्कारले गर्दा मात्र वर्गीकृत हुने कुराको यथार्थ नबुझि भएको यो विभेद समाजलाइ बिथोल्ने क्रिया हो। जन्मदा विशिष्ट हैसियत कसैको हुँदैन। कर्म गुण र क्षमताले मात्र विशिष्टता निर्धारण हुने विषयलाइ वास्ता नगरिएको कारणबाट उंच र नीच भनी विभाजनको रेखा कोरिनु युक्तिसंगत होइन। कर्म सानो र ठूलो भन्ने नै हुंदैन र काममा उंच र नीच वर्ग भन्ने पनि हुंदैन। गुण, कार्यक्षमता र कामको प्रकृति अनुसार जोसुकै पनि जुनसुकै तहमा पुग्ने र स्तर निर्धारण हुने कुरालाइ बंग्याएर उपल्लो जात र तल्लो जात भनि भएको न्यूनिकरण र विशिष्टिकरण गरिएको कारणबाट समाजमा विभेदले ठाउं लिएको हो।
राज्यका विभिन्न अंगमा काम गर्न चाहिने ज्ञान, विवेक र बुद्धि, शासनमा संलग्न भै सुरक्षा शान्ति कायम गर्दा आवश्यक पर्ने शौर्यता, व्यापार, व्यवसाय, आर्थिक क्रियाकलापमा भैरहनुपर्ने तत्परता र नीति योजना र कार्यक्रमलाइ कार्यान्वयन तहमा काम गर्ने कला कौशलको आधारमा विभाजित वर्गको रुपमा रहेको जनशक्तिलाइ प्रतीकात्मक अर्थ गरी बंग्याएर गरिएको यो वर्ण विभाजन असंगत मात्र नभएर अन्यायपूर्ण पनि हो।
अन्तमा,
आजको संसार समुन्नत हुनुको कारण कर्मबाट नै हो । समयको क्रममा सामाजिक व्यवस्थामा खलल हुने विकृत सोच विकसित हुने जस्ता कुराले ठाउँ लिने गरेको इतिहास पनि छ। व्यापक सुधार पनि भएका छन्। असंगत प्रचलन वा परिपाटी मानिसको प्रयासबाट नै विस्थापित हुनेहुन्। अहिले पनि राजनीतिक, आर्थिक, सामाजिक जस्ता हरेक क्षेत्रमा देखिएको अहंकार, बेथिति, अनुशासनहीनता, विभेद जस्ता कुराको नियन्त्रण आवश्यक भएको देखिएको छ । आआफ्नो क्षेत्रबाट कर्तव्यकर्म निर्वाह गरी व्यवस्थित गर्ने प्रयास गर्दा संभव नहुने पनि हुँदैन। आदिम समाजबाट रुपान्तरित हुँदैआएको अहिलेको समाजको विकसित रुप कर्मको परिणाम नै भएकोले मानिसका बीचको असमानता हटाइ न्यायपूर्ण समाजको स्थापना र समाजका पिछडिएका वर्गको उत्थानमा लाग्नु नै सबैको कर्तव्य हो भन्ने कुरामा मतभेद नराखी मनन गर्नु नै समयको माग हो। (लेखक/पूर्वन्यायाधीश शर्मा, सुशासन र समाजिक न्यायका पक्षमा कलम चलाउनु हुन्छ।)