सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका – ११ र थुलुङ दूधकोशी गाउँपालिका – ३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा आइतबार अपरान्ह पाइप पड्किएर बेहोस भएका २ जनाको ओखलढुङ्गाको सामुदायिक अस्पतालमा पुर्याउँदा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए।
उक्त घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवासराज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको बताइएको छ। घाइते १ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडाैं पठाइएको प्रजिअ शाहीले बताए।
घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए। मौसम सफा नहुँदा तत्कालै उपचारका लागि काठमाडाैं पठाउन नसकेपछि ओखलढुंगाको सामुदायिक अस्पतालमा लगेपछि डाक्टरले मृत घोषणा गरेको बताइएको छ।