× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

चिसोले पहिरोपीडितको जीवन कष्टकर

Simrik Online

६ माघ २०८०, आईतवार

काठमाडौं । पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेपछि जनजीवन प्रभावित बनेको हो ।

दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको स्थानीयको भनाइ छ । चिसो बढेपछि पूर्वी नवलपरासीको पहिरोपीडितको जनजीवन कष्टकर बनेको छ । चिसो बढेपछि बजारमा सर्वसाधारणको आवतजावत पातलो भएको छ ।

विशेषगरी बिहान र बेलुकीको समयमा यहाँका सडक, गल्ली तथा चोकहरु सुनसान देखिन थालेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका –५ बाघखोरका १८ घरधुरीका १ सय ३३ जनाभन्दा धेरै विगत साढे दुई वर्षदेखि टहरामा बस्न बाध्य भएका छन् । अन्य बेलाको समय जसोतसो कटाए पनि पुस, माघको कठ्याङग्रिँदोे जाडोमा जोगिन सकस भएको पहिरोपीडित खगिसरा रानामगरले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “एकै रातको पानीले जमिन भासिने र पहिरो जाने भएपछि गाउँपालिकाले उद्धार गर्दा ज्यान त बाँच्यो अब कसरी बाँच्ने भन्ने चिन्ता रहेको छ ।” पुस महिनाभर जाडोको खासै अनुभूति नभए पनि माघ महिनाबाट शीतलहरसँगै चिसो बढेको छ ।

विशेषतः बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकको हेरचाहमा समस्या हुनेगरेको छ । वि.सं २०७८ साउन १ गते पहिरोले विस्थापित भएका घरपरिवारको यत्तिका समयसम्म पनि स्थायी बसोवासको टुङ्गो लाग्न सकेको छैन ।

दीर्घकालीन रुपमा बसोबासको व्यवस्था हुन नसक्दा पीडितहरु अझै अस्थायी टहरामै कष्टपूर्ण जीवन बाँच्न बाध्य भइरहेका छन् । पहिरोपीडित खेमबहादुर सोमै मगरले बिहान–बेलुकाको छाक ज्याला मजदुरीकै भरमा काटे पनि हामीजस्ता वृद्धवृद्धा र साना बालबच्चालाई चिसोले स्वास्थ्यमा अझ बढी समस्या पर्नेगरेको बताउनुभयो ।

ब्लक र टिन लगाइएको एक–एक कोठा र एउटा टेन्ट उहाँहरूको बास काट्ने थलो भएको छ । अस्थायी टहरामा बस्दै आउनुभएकी दिलमाया सोमैले भन्नुभयो, “सानो एउटा कोठाभित्र धेरैजनाको परिवार बस्नुपर्ने बाध्यताले अहिले पिरोलिरहेको छ ।”

विस्थापित १८ घरपरिवारको दैनिकीे ज्याला मजदुरी गरेर बित्ने गरेको भए पनि चिसोका कारण काम गर्न जान नसकेको उहाँले बताउनुभयो । उनीहरु बस्दै आएको गाउँमा प्रतिघर एकदेखि तीन बिघा जमिन थियो । अहिले ती जमिन मात्र खोसिएन बस्ने बास पनि खोसिएको छ । अरुको जग्गामा शरण लिएर बस्नुपरेको छ । ८० वर्षीय धनबहादुर सामैले वृद्ध उमेर भैइसकेकाले कतिबेला के हुन्छ थाहा नभएकाले चिन्ता हुने गरेकोे बताउनुभयो ।

हुप्सेकोट गाउँपालिकाले पहिरोपीडितलाई अस्थायी टहरामा ल्याएर राखेको छ । स्थायी व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारमा पटक–पटक पहल गर्दैआएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।-गोरखापत्र