काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको जीउधनको सुरक्षा गर्दै सामाजिक सद्भाव कायम गर्न सशस्त्र प्रहरी बल सक्षम रहेको बताएका छन्।
सशस्त्र प्रहरी दिवसको २३औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरी सामाजिक सद्भाव कायम गर्न सरकारबाट प्रदान गरिएका आदेश तथा निर्देशनहरूलाई पालना गरी समन्वयात्मक तवरले परिचालित हुनुपर्ने बताए। संवैधानिक सर्वोच्चता र कानुनी शासनको मान्यतालाई आत्मसात र मानव अधिकारको संरक्षण गर्दै मानवीय कानुनहरूको पूर्ण पालना र भ्रष्टाचार तथा लैङ्गिक विभेदमा शून्य सहनशीलताका नीति प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा दाहालको भनाइ छ। उनले सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारको कार्यान्वयनमा आफ्नो क्षेत्रबाट इमानदार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
असीमित आवश्यकता र सीमित साधनस्रोतको विरोधाभासपूर्ण परिस्थितिमा नेपालजस्ता विकासशील मुलुकहरूले समस्या झेलिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय महाभूकम्प, कोभिड महामारी, विश्व राजनीतिमा देखिएको ध्रुवीकरण र त्यसको प्रत्यक्ष प्रभावजस्ता कारण अर्थतन्त्रले निकै ठूलो चुनौतीको सामना गरिएको बताए।
सशस्त्र बलको व्यवस्थापकीय पक्षलाई केन्द्रमा राखेर सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले भने, ‘निरन्तरको प्रयासबाट अर्थतन्त्रमा राम्रो सुधार आएको छ, यद्यपि हाम्रो दबाब पूर्णतः अन्त्य भइसकेको छैन। आधुनिक हातहतियार, गोलीगठ्ठा, असभावका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारीसाधन, भौतिक पूर्वाधारलगायत आवश्यक सञ्चार तथा अन्य उपकरणहरू र जनशक्तिका लागि सरकारको तर्फबाट आवश्यक पहल भई नै रहेको छ।’
विश्वव्यापीकरण तथा सूचना प्रविधिमा आएको बहुआयमिक विकासले अवसरका अनगिन्ती ढोकाहरू खोलिदिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको व्यवस्थित र वैज्ञानिक प्रयोगबाट समृद्धिको महत्त्वपूर्ण आधारशीला प्राप्त भएको बताए। सूचना प्रविधिको विकाससँगै नयाँ-नयाँ अपराध र सुरक्षा चुनौतीसमेत थपिदिएको यथार्थ प्रस्तुतत गर्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बल बदलिएको परिस्थितिअनुसार प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रणका निम्तिसमेत उत्तिकै दक्ष र चनाखो रहनुपर्ने बताए।
प्रधानमन्त्री दाहालले वि.सं २०७२ सालको विनाशकारी महाभूकम्प तथा पछिल्लो समय बझाङ, जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानवसिर्जित विपद्मा कर्तव्यनिष्ठ भएर जनताको जीवन रक्षामा गरेको भन्दै सशस्त्र बलले पुर्याएको योगदानको प्रशंसा गरे।-अन्नपूर्ण