काठमाडौं । भारतमा सोमबारदेखि नागरिकता संशोधन कानून (सिटिजनशिप अमेन्डमेन्ट एक्ट – सीएए) लागू भएको छ । केन्द्र सरकारले लागू गरेको यो कानूनले पाकिस्तान, बंगलादेश, अफगानिस्तानबाट आएका गैर मुस्लिम शरणार्थीलाई नागरिकता दिन मिल्नेछ ।
लोकसभा चुनाव भन्दा अगाडि नरेन्द्र मोदी सरकारले ठूलो साहस बटुल्दै सीएए जारी गरेको जानकारी दिएको हो । केन्द्रीय गृह मन्त्रालयले सूचना जारी गर्दै सोमबारदेखि नै सीएए लागू भएको जनाएको हो ।
सीएए संसदबाट पारित भएको ५ वर्ष पूरा भएको छ । सन् २०१९ मा यो कानून संसदबाट पारित भएको थियो । यद्यपि सरकारले अहिलेसम्म लागू गर्न सकेको थिएन ।
सीएएको आधारमा २०१४ को डिसेम्बर ३१ भन्दा अगाडि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट धार्मिक आधारमा प्रताडित भएर भारत आएका हिन्दू, सिख, बौद्ध, जैन, पारसी र ईसाई समुदायका मानिसहरुलाई नागरिकता दिइनेछ । यी तीन देशबाट आएका मानिसहरुमात्र नागरिकताका लागि आवेदन दिन योग्य हुनेछन् ।
नागरिकताका लागि आवेदन प्रक्रिया अनलाइन हुनेछ । आवेदकले भारत कहिले आएको हो भर्नुपर्नेछ । राहदानी वा अन्य कुनै दस्तावेज नहुनेलेसमेत आवेदन भर्न पाउँछन् ।
भारतमा पाँच वर्षभन्दा बढी समय बसेकाले नागरिकता पाउने पनि उल्लेख छ । अन्य विदेशीहरु (मुस्लिम) का लागि यो समय ११ वर्षभन्दा बढीको रहेको छ ।