× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

शुक्र र बृहस्पति अस्त, शास्त्र अनुसार के गर्ने के नगर्ने ?

Simrik Online

१५ बैशाख २०८१, आईतवार

✍️ शम्भुहरि बास्तोला

आजदेखि शुक्र ६८ दिनसम्म  र २५ गतेबाट वृहस्पति २३ दिनसम्म अस्त हुँदैछन्, यसबीचमा के गर्ने के नगर्ने ?
२०८१ बैशाख १६ गते आइतबार, 28 अप्रिल 2024
देखि शुक्र पूर्वमा अस्त ।
२०८१ असार २१ गते शुक्रबार,  05 जुलाई 2024 शुक्र पश्चिममा उदय । (ज्ञातव्य :🚩  शुक्रग्रह ६८ दिनसम्म अस्त हुँदै)
२०८१ बैशाख २५ गते मंगलबार 07 मे 2024 देखि
गुरु बृहस्पति पश्चिममा अस्त ।
२०८१ जेठ १९ गते शनिबार 01जुन 2024 गुरु बृहस्पति पूर्वमा उदय । (ज्ञातव्य : गुरु बृहस्पतिग्रह २३ दिनसम्म अस्त हुँदै ।)
सनातन वैदिक धर्मशास्त्रमा आस्था राख्ने आस्थावान आदरणीय महानुभावहरुमा आज वि.सं. २०८० बैशाख १६ देखि लगभग ६८ दिनसम्म शुक्र र बैशाख २५ गते मंगलबारदेखि बृहस्पति ग्रह २३ दिनसम्म अस्त हुदैछन्, यस्तो बेलामा के-के कर्म  गर्न हुन्छ ? र के-के कर्म गर्न हुदैन ? भन्ने कुराको शास्त्रीय प्रमाणसहित जानकारीको लागि यहाँ राखिएको छ ।
🙏गुरु र शुक्र अस्ताएको तथा बालक एवं वृद्ध भएको बखतमा गर्न हुने र नहुने कर्म 🙏
ज्योतिष शास्त्र अनुसार हरेक समयमा ग्रहहरु अस्त उदय तथा बक्री मार्गी हुने गर्दछन् । अरु ग्रहहरु भन्दा देवगुरु बृहस्पति र दैत्यगुरु शुक्र ग्रह अस्त तथा उदयको समयलाई विशेष महत्त्वका रुपमा लिने गरिन्छ ।
सूर्य ग्रहले राहु तथा केतु ग्रहलाई बाहेक बाकी ६ वटा ग्रहलाई अस्त बनाउछ । सूर्यलाई कुनै पनि ग्रहले अस्त बनाउन सक्दैनन् तर राहु तथा केतु ग्रहले भने केही समयको लागि सूर्यलाई अस्त बनाउँछ जुन अवस्थालाई हामीले ग्रहण भनेर भन्ने गरिन्छ ।
हाम्रो वैदिक सनातन धर्मशास्त्रमा प्रत्येक कार्यको लागि शुभ नक्षत्र, बार, तिथि, योग, करण, तथा एउटा राम्रो अभीष्ट समय, शुभ बेला, अमृत बेला शास्त्रद्वारा निर्धारित गरिएको छ । कुनै समय यस्तो पनि छ जुन समयमा शुभ कार्यको लागि मुहूर्तहरु शास्त्रले निषेध गरेको छ । शुभ एवम् मांगलिक कार्यहरुका लागि शास्त्रनै प्रमाण हुने हुँदा शास्त्रीय आधारमा कार्य गर्न अनुरोध गरिन्छ ।
कसैले पनि शास्त्रीय मर्यादालाई उल्लंघन गरेर अशास्त्रीयकर्महरु गर्छ भने त्यसलाई एकदिन त्यहीँ कार्य र परिस्थितिले फलहिन, बेइज्जत, एक्लो एवं दण्ड समेत गरिदिने छ ।
शास्त्रवचन, ऋषिवचन, गुरूवचन, वेदवचन तथा भगवानको वचन कहिले पनि झुठो र असत्य हुँदैन, त्यसकारण शास्त्रीय मान्यता अनुसार कार्य गर्नुपर्छ । यो तपाईं हामी सबैको जिम्मेवारी हो ।
भनिएको छ : (तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ ।)
सनातन धर्ममा विशेषगरी वृहस्पति र शुक्र ग्रह अस्त भएका बेला माङ्गलिक कार्यहरू गरिँदैनन् । ज्योतिष ग्रन्थका अनुसार शुक्र र वृहस्पति ग्रह अस्त हुनुभन्दा केही दिन अघि वृद्ध हुने र उदयपछिका केही दिन बालक हुने हुनाले अघिपछिका दिनमा शुभकार्यहरू गरिदैनन् ।
उदय अस्त ?
ज्योतिषशास्त्र अनुसार ग्रहहरू आफ्नो चलायमान गतिको क्रममा विभिन्न समय उदय अस्त हुने गर्दछन् । सूर्यको नजिक पर्दा ग्रह अस्त हुन्छन् भने सूर्यबाट टाढा हुँदा उदय हुन्छन् । अर्को अर्थमा क्षितिजमा नदेखिने ग्रहलाई अस्त भएको भनिन्छ ।
सनातन वैदिक धर्मशास्त्र अनुसार देवताका गुरु बृहस्पति हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन् । ज्योतिषशास्त्रका अनुसार प्रत्येक वर्ष शुक्र अस्त र बृहस्पति अस्त हुने गर्दछ । वर्षको एक समयमा घुम्दै जाने क्रममा शुक्र ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले शुक्र ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई शुक्र अस्त भन्ने गरिन्छ । साथै घुम्दै जाने क्रममा बृहस्पति ग्रह पृथ्वीनजिक पुगेपछि सूर्यको प्रकाशले बृहस्पति ग्रहको प्रकाशलाई ओझेलमा पार्नु नै बृहस्पति अस्त भन्ने गरिन्छ ।
ज्योतिषीय मान्यता अनुसार बृहस्पति अस्त हुने डेढ-दिन अघि र उदाएको डेढ-दिनसम्म पनि विभिन्न धार्मिक क्रियाकलाप  गर्नुहुँदैन ।
शुक्र अस्त भएपछि शुक्र ग्रहबाट आउने तत्त्व हामीमा प्राप्त हुँदैन । शुक्र विशेषतः मज्जा तत्त्व प्रदान गर्ने ग्रह हो । त्यसैगरी गुरु अस्त भएपछि पनि गुरुबाट आउने तत्व र फल प्राप्त हुदैन ।
धार्मिक मान्यता अनुसार नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका कार्य रहेका हुन्छन् ।
नित्य कर्ममा स्नान, ध्यान, जपतप, पूजापाठ आदि कर्म पर्दछन्
भने नैमित्तिक कार्यमा रामनवमी, शिवरात्री, जन्माष्टमी अथवा वर्षेनि पर्व र बच्चाको न्वारान, पास्नी, मृत्यु संस्कार, तथा श्राद्ध, मासिक तर्पण, जन्मोत्सव जस्ता कर्म पर्दछन् ।

गर्नहुने कर्महरु :
स्नान, सन्ध्या, पाञ्चायनपूजा, नित्यगरिराखेका कर्महरु, दुर्गापूजा, चौमासाको व्रतपूजा, तुलसीपूजा र तुलसीविवाह, तुलसीको मठमा हवन, शान्ति – स्वस्ति, रामनवमी, नवरात्रि, यमपञ्चक,  जन्माष्टमी, शिवरात्रि आदि जन्मतिथिहरु,  नित्य कर्महरु र श्राद्ध,  तर्पण, आशौच, मृतकको क्रियाकर्म, न्वारान, ग्रहणकालमा स्नानादि, नैमित्तिक कर्महरु गर्नहुन्छ ।

गर्न नहुने कर्महरु :
गुरु – शुक्र अस्तपूर्व तीनदिन अघिदेखि तेजोहीन हुने भएकोले वृद्धत्व र  उदयपछि पनि तीनदिन अल्प तेज हुनाले शिशुत्वदोष लाग्छ । यस्तो समयमा धार्मिक काम्य कार्य गर्न हुँदैन, शास्त्रले निषेध गरेको छ ।

धार्मिक आस्थावान व्यक्तिहरुका लागि निम्नकार्यहरु नजुर्ने भएकोले नगर्न/नगराउन हुन हार्दिक जानकारी गराइन्छ ।

वापीकूप तडाग यज्ञ गमने क्षौरं प्रतिष्ठा व्रतं ।
विद्या मन्दिर कर्णवेधन महादानं गुरोः सेवनम् ॥
तीर्थस्नान विवाहकाम्य हवनं मन्त्रोपदेशं शुभम् ।
दुरेणैव जिजीविषुः परिहरे दस्ते गुरौ भार्गवौ ॥
वाप्याराम- तडाग- कूप- भवनारम्भप्रतिष्ठे व्रताऽऽरम्भोत्सर्ग-वधूप्रवेशन-महादानानि सोमाष्टके । गोदानाग्रयण- प्रपा- प्रथमकोपाकर्मवेदव्रतं नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् ।।
दीक्षा- मौञ्जि- विवाह- मुण्डनमपूर्वदेवतीर्थेक्षणं संन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाऽभिषेकौ गमम् ।
चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेद्
वृद्धत्वास्तशिशुत्व इज्य- सितयोर्न्यूनाधिमासे तथा ।।
जलाशय, कुवा, तडाग (तलाउ), यज्ञ, चूडाकर्म (मुण्डन), देव प्रतिष्ठा, यज्ञोपवीत, विद्यारम्भ, नयाँ गृह प्रवेश, बालकका कर्णवेध, महादान, गुरुसेवा, तीर्थस्नान, विवाहादि उत्तम कर्म, मन्त्रोपदेश आदिकार्य प्रथम पटक गर्नमा – दीर्घायु हुन चाहनेले गुरू शुक्र अस्त भएका अवस्थामा नगर्नु अथवा यिनदेखि टाढा रहनु । अन्य नित्य कर्म गर्न हुन्छ ।
इनार, बगैंचा, तलाउ, कुवा आदि निर्माण गर्नु, गृहारम्भ र गृहप्रवेश, वास्तुपूजा, चान्द्रायणादि व्रतको आरम्भ, व्रतको आरम्भ र समापन, उद्यापन सांगे, तुलादानादि, महादानहरु, सोमयाग, अष्टकाश्राद्ध, गोदान, चूडाकर्म केशान्त कर्म, नवान्नभक्षण पास्नी अन्नप्राशन, जलशाला निर्माण, पहिलोपटक श्रावणीकर्म उपाकर्म, उपनिषद्व्रत, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार (विहित कालमा हुन नसकेको बच्चाको जातकर्म, नामाकरण, अन्नप्राशन आदि संस्कार), देवताको प्रतिष्ठा, दीक्षाग्रहण (दीक्षा दिन लिन), मन्त्र सुन्न, विद्यारम्भ संस्कार,  विवाह, व्रतबन्ध/यज्ञोपवित), कहिल्यै नगएको देवताको – देवस्थानको एवं कहिले नगएको तीर्थको दर्शन, संन्यास ग्रहण, अग्निहोत्रलिनु अग्न्याधान, राज्याभिषेक, पहिलोपटक कुनै देशको यात्रा, चतुर्मासव्रत चातुर्मास्ययाग, समावर्तन, कर्णवेध, दिव्यपरीक्षा गर्नु, रुद्राभिषेक, लक्ष्यहवन, कोटिहवन, त्यस्तै एकाह, सप्ताह, नवाहआदि पुराण लगाउनु, मन्दिर निर्माणको आरम्भ, देवता स्थापन, प्राणप्रतिष्ठा आदि काम्यकर्महरु गुरु-शुक्रको अस्त र बाल्यवृद्धत्वमा गर्न हुँदैन ।  त्यस्तै क्षयमास र मलमासमा पनि उक्त कार्य गर्न हुँदैन ।

काम्य कर्ममा जुराएर र हेराएर गर्ने प्रकृतिका कार्यहरु जस्तै नयाँ गृह निर्माण आरम्भ, नवगृह प्रवेश, नयाँ व्रतको आरम्भ, व्रतको सांगेता र नयाँ मन्दिर निर्माण, मूर्ति स्थापना, सप्ताह, नवाह आदि अनुष्ठान र व्रतबन्ध-विवाह आदि संस्कारहरू पर्दछन् । प्रत्येक काम्य कर्मका फलदाता नै गुरु र शुक्र हुन् ।
वृहस्पति र शुक्र अस्त भएको समयमा वेद धर्म शास्त्रादि ग्रन्थको उपेक्षा गरी अशुद्ध समयमा गरे/गराएको कर्मले कामना गरे बमोजिमको फल दिँदैन ।
पुरोहित र यजमान दुबैलाई फल प्राप्त नहुने निश्चित छ ।
यस्तो समयमा पूजापाठ तथा अन्य धार्मिक काम्य कार्य गरेर (नित्य नैमित्तिक कर्म बाहेक) दान लिने एवं द्रव्य आर्जन गर्ने व्यक्ति शास्त्र अनुसार पतित हुने शास्त्रमा उल्लेख गरिएको छ । ॐ तत्सत !