Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
महिमा : सुपा-देउराली भगवतीको

Warning: mysqli_query(): (HY000/1): Can't create/write to file '/tmp/#sql_35f_1.MAI' (Errcode: 28 "No space left on device") in /home/simrikon/public_html/wp-includes/wp-db.php on line 2056
× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड

महिमा : सुपा-देउराली भगवतीको

Simrik Online

३ असार २०८१, सोमबार

✍️ कोमलनाथ शर्मा

सुपा-देउराली, मोटरबाटो निर्माण हुनुपूर्व आवतजावत गर्नेको निमित्त विश्राम गर्ने ठाउँ हो । देउरालीमा भगवतीको स्वरुप रहेको मानी आस्था प्रकट गर्ने गरिएको कारणबाट अहिले भगवतीको मन्दिर निर्माण भएको छ । यो ठाउँ मोटरबाटो निर्माण पछि अहिले कपिलवस्तु जिल्लाको गोरुसिंगेबाट अर्घाखाँची जिल्लाको सदरमुकाम जाँदा बाटोमा पर्छ । भगवतीको स्थापना र मन्दिर निर्माण भएपछि यस ठाउँलाई चिनाउनु पर्ने अवस्था छैन । भगवती आराध्य भएको र दर्शन र आराधना सनातनी परम्परा भएको कारण दर्शनार्थी खोजीखोजी यहाँ आउँछन् । अप्ठ्यारो पर्दा भगवतीको स्मरण र समाधान निमित्त पूजा अर्चना गर्नु नौलो होइन । अनि पुकार गर्दा भगवतीको कृपा हुने जस्ता कारणबाट भगवतीको महिमा र दर्शनाथीको संख्या बढ्ने पनि स्वाभाविक हो ।

चलनमा देउराली :
देउरालीमा भगवतीको स्वरुप रहेको मानिने हाम्रो संस्कृति र परम्परागत मान्यता हो । मोटर बाटो निर्माण हुनु पूर्व त्यही बाटो भएर आवतजावत गर्दा देउरालीलाइ पूज्य संझेर त्यहाँ भएको माटाको ढिस्को वा थुप्रो, ढुंगाको शिला वा रुखमा फूलपाती चढाइ ढोग गर्ने चलन पुरानै हो । फूलपाती नपाइए झारपात चढाइने र रुखमा ध्वजा पताका बाँध्ने यो परम्परा देउराली रहेको अधिकांश ठाउँमा अद्यापि जीवित छ । पृथ्वीमा जल व्याप्त भए जस्तै ईश्वरीय सत्ता पनि सर्वत्र व्याप्त छ भन्ने हाम्रो मान्यता हो । त्यसै अनुरुप प्रकृति सिर्जित खास वस्तु वा वा ठाउँलाइ देवी देवता संझेर पूजा अर्चनाको निमित्त देउरालीको चयन भएको र देउराली चयन भएकै कारण सबै देउरालीमा भगवती प्रतिष्ठित हुने विश्वास छ । यस मान्यता अनुरुप नै सुपा खोलाको किनारमा रहेको देउरालीमा पनि भगवतीको स्वरुप मानेर आस्था प्रकट गरी फूलपाती चढाउने चलनको निरन्तरता प्रति सन्देह गर्नुपर्ने कारण छैन ।

मन्दिर निर्माण र प्रतिमा स्थापना :
सुपा देउरालीमा स्थापित भगवतीको इतिहासको विषयमा विभिन्न कथन छन् । ती मध्ये त्यतिबेलाको सानासाना टाकुरे राज्य भएको अवस्थामा राजकुमारीको विवाह प्रसंग जोडेर भगवतीको उत्पत्तिको कारण हो भनिन्छ । कारण जेसुकै भएपनि आराध्यको रुपमा भगवती प्रतिष्ठित भएको कुरा स्पष्ट छ । भगवती स्थापित भएको समय कहिले भन्ने विषयको जानकारी राख्ने व्यक्ति नभएपनि पत्ता लगाउने काम अनुसन्धाताको हो । मन्दिर निर्माण हुनु पूर्व पनि भगवतीको आराधना गर्ने चलनको निरन्तरताले भगवती प्रतिको आस्था र विश्वास विकसित हुँदै आएकोले नै भगवतीलाइ प्रतिष्ठित गर्ने आवश्यकता संझिएको होला । देउरालीमा रहेको देवी देवताको स्वरुपलाइ कलेवरको रुपमा प्रतिमाको निर्माण गरी भगवती मन्दिरमा प्रतिष्ठित भएपछि बृहद् रुपमा भगवतीको महिमाको विषयमा प्रचार हुन थालेको भन्छन् स्थानीयहरु । मन्दिर निर्माण हुनुपूर्व देउरालीमा भगवती रहेको भन्ने जनश्रुति असत्य नभएको कुरा विगतमा भएगरेका व्यवहार र अहिले सो ठाउँलाई भगवती स्थान मानेबाट स्पष्ट छ । आवत जावत गर्दा देउराली विश्रामको निमित्त प्रयोग हुने स्थल वा त्यस्तो विश्राम गर्ने स्थल नभएपनि त्यहाँ रहेका माटाको थुप्रो, वृक्ष, शिला आदिलाई ईश्वरीय स्वरुप संझेर फूलपाती वा सोको अभावमा झारपात राखेर अभिवादन गर्ने चलन पनि देवी देवताको अंश रहेको मानेर हो । फूलपाती चढाए पछि गन्तव्यमा सहजै पुग्ने विश्वास रहेको कारण र आशिर्वाद वा वरदान माग्दा उद्देश्य पुरा हुने भन्ने चलनको रुपमा विकसित भएको परम्परालाइ अन्यथा मान्नुपर्ने अवस्था छैन । आशिर्वाद मागेका व्यक्ति साँच्चै नै उद्देश्यमा सफल भएको कर्णपरम्पराले भगवती प्रति नतमस्तक हुनु स्वाभाविक हो । यी र यस्तै अरु कारणबाट मन्दिर निर्माण र भगवतीको प्रतिमाको स्थापनासँग अन्य देवी देवताको प्रतिमा स्थापना गर्ने स्थानीय व्यक्तिको सोच र प्रयास धन्य भएको छ ।

सुपा-देउरालीमा भगवतीको महत्व :
अर्घाखाँची जिल्लामा पर्ने सुपा-देउरालीको विषयमा मोटर चल्ने बाटो नबनेसम्म सो बाटो भएर आवतजावत गर्ने यात्री र स्थानीय व्यक्तिमा मात्र सीमित रहेको जानकारी अहिले फराकिलो भै चासोको विषय भएको छ । सामान्य रुपमा देउरालीमा बिसाउने, विश्राम गर्ने र देउरालीमा फूलपाती चढाएर आफ्नो गन्तव्यको सफलताको निमित्त भगवतीको कृपा रहोस् भन्ने कामना गर्ने चलन माथि भनिए जस्तै देउरालीमा भगवतीको स्वरुप रहेको मानेर हो । सबैको आस्थालाई भगवतीको प्रतिमामा रुपान्तरण गरी प्रतिष्ठित गराउनु र मन्दिरको निर्माण गरेर पूजा अर्चनाको व्यवस्था गर्नुले भगवतीको महत्वलाई व्यापक बनाएको छ ।

भगवतीको पूजा अर्चना गर्नु र पूजा गर्नेले आँटेको काम पुरा हुनु संयोग मात्र नभएर भगवतीको कृपा भएको मान्यता आत्मसात गरिन्छ । त्यस्तै देवी देवताको महिमा बढ्नु बढाउनुमा आकांक्षीले प्राप्त गर्ने प्रतिफल पनि यौटा पक्ष हो । देवी देवताको शक्ति अपरिमित भएपनि त्यसको कारणबाट मानिस लाभान्वित भएमा मात्र प्रचारमा आउने भएकोले मानिस पनि निमित्त कारण बन्छ । मन्दिर निर्माण हुनुमा पनि यही कारण अन्तरनीहित भएको होला ।

श्रुतानुश्रुत कुरा :
भगवती त आदिशक्ति नै हुन् । भगवतीको शक्तिको विषयमा विभिन्न चर्चा हुनु सामान्य हो । चर्चाको क्रममा सुपा देउराली भगवतीको अवज्ञा गर्दा दण्डित हुनुपर्ने वा प्रतिकूल परिणाम व्यहोर्नुपर्ने घटना भएको कुरा सुनाउने गरिन्छ । भगवती समक्ष आफ्नो कार्यसिद्धिको निमित्त आग्रह गर्ने र कार्यसिद्ध भएमा भगवती समक्ष अमुक काम गर्ने प्रतीज्ञा वा भाकल गर्ने स्वाभाविक चलन हो र भगवतीको प्रसादले कार्यसिद्ध भएपछि भगवती समक्ष गरेको भाकल अनुसारको काम पुरा गर्नुपर्छ भन्ने मान्यता सर्वत्र छ । नगरेमा वा उपेक्षा गरेमा त्यसको परिणाम प्रतिकूल हुने भनिन्छ । त्यस्तो व्यक्ति दण्डित हुने गरेको सुनाइन्छ । देवी देवतामा आग्रह पूर्वाग्रह रहने त होइन तर बुझाइमा उपेक्षा गरेको परिणाम स्वरुप एकजना लाहुरेको आकृति नगीचको पहरोमा टाँसिएको भनी बताउने गरिन्छ र हेर्दा आकृति देखिन्छ पनि । त्यस्तै सो बाटोबाट हिंड्ने सवारी साधनको चालकबाट भगवतीको उपेक्षा भएमा सवारी विग्रिने वा दुर्घटना हुने सम्मका कुरा पनि गरिन्छ । यस्तै कथनले पनि भगवतीको शक्ति, महिमा र महत्व बढाएको छ । कतिपय कुरा यथार्थ पनि हुने र कतिपय कुरा संयोगको परिणाम पनि हुन सक्छ । यसको सत्यता भने निजी विश्वास र अनुभव नै हो । ईश्वरीय शक्ति अपरम्पार हुन्छ भन्ने कुरा सार्वभौम हो । सबैले बुझेको कुरा हो कि ईश्वरीय शक्तिलाइ न्यूनीकरण गर्न हुँदैन । प्रतिफल निजी हुने भएपनि त्यसको प्रभाव वरपर पर्छ ।

अन्तमा :
देवी-देवताबाट लाभान्वित हुने प्राणी मानिस नै हो । देवी-देवतालाइ आराधना गरी खुशी बनाउने प्राणी पनि मानिस नै हो । देवी-देवताको आशिर्वाद पाउने पनि मानिसले नै हो । मानिसले अर्पण गरेको वस्तु देवी-देवताबाट ग्रहण हुने र मानिसको आवश्यकताको पूर्ति गर्ने काम पनि देवी-देवताबाट हुन्छ भन्ने विश्वासले जीवन सञ्चालित छ । यस्तो अन्योन्याश्रित सम्बन्ध रहेको अवस्थामा देवी-देवताको महिमा र प्रसिद्धिलाइ प्रचार हुने पनि मानिस भित्र नै हो । आराधनाबाट प्राप्त हुने आशिर्वादको कारण मानिसको इच्छापूर्ति वा प्रगति हुने गरेको अनुभवको आदान प्रदानले प्रचारको काम हुन्छ नै । देवी-देवताको पूजा-अर्चनाबाट केही प्राप्त नहुने भए देवी-देवता प्रति यति धेरै श्रद्धा र भक्ति पनि रहँदैनथ्यो होला । देवी-देवताबाट पाउने भौतिक वा आत्मिक प्रतिफल नै मानिसको प्रगतिको श्रोत भएको मानिएको कारण मानिस समर्पित हुने हो । यस्तै आस्था सुपादेउराली भगवतीमा रहेकोले आउनेको संख्यामा बृद्धि भै स्थानीय व्यक्तिको व्यवसाय पनि चलेको छ । अनि स्थानीय व्यक्तिको प्रयासले भगवतीको ख्याती पनि प्रसारित छ । (लेखक/पुर्वन्यायाधीश शर्मा  : सुशासन र सामाजिक न्यायका पक्षमा कलम चलाउनु हुन्छ।)