काठमाडौं । संस्कृत शिक्षाको अपरिहार्यता : प्रदायक संस्थाहरुले भोग्नुपरेका समस्या र समाधानका उपायहरु विषयक विचार गोष्ठी सम्पन्न भएको छ । काठमाडौं कमलपोखरी स्थित हुकुम दरबारमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व पूर्वमन्त्री बलबहादुर केसीले गर्नुभएको थियोे । त्यस्तैगरि नेपाल सन्त समाजका अध्यक्ष अनन्तश्री विभुषित स्वामी ज्ञानानन्द सरस्वती महाराज कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियोे ।
विपि संस्कृत मा.वि, विपि कोइराला संस्कृत विद्यापीठ तथा गौरीशंकर गुरुकुल समन्वय समिति नेचासल्यान -२, सोलुखुम्बु आयोजक रहेको कार्यक्रममा विषयगत प्रस्तुति शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको रहेको थियो ।
गोष्ठीमा विशिष्ट वक्ताहरूको रुपमा नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व उपकुलपति संस्कृतिविद् डा.जगमान गुरुङ, त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका विभागाध्यक्ष एवं शिक्षा विकास अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा.कृष्णचन्द्र शर्मा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा.लालमणि पाण्डे, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकाल, प्रा.डा.गणेशप्रसाद घिमिरे, प्रा.डा.विष्णुप्रसाद दाहाल, महर्षि वैदिक फाउन्डेसन नेपालका अध्यक्ष एवं पूर्वमन्त्री दिपकप्रकाश बास्कोटा रहनुभएको थियोे भने कार्यक्रमको सञ्चालन विश्व हिन्दु महासंघ केन्द्रीय/अन्तर्राष्ट्रिय समितिका महासचिव आचार्य शम्भुहरि बास्तोलाले गर्नुभएको थियोे ।
विश्वेश्वरप्रसाद कोइराला संस्कृत विद्यापीठका प्राचार्य उपप्राध्यापक लोकनाथ दाहालद्वारा स्वागत गरिएको कार्यक्रममा विपि संस्कृत माविका प्रधानाध्यापक उमाकान्त काफ्लेले स्थानीय अबस्थाको जानकारी गराउनुभएको थियोे ।
कार्यक्रममा विशिष्ट वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा.जगमान गुरुङले संस्कृतमा अथाह सामर्थ्य रहेको र सो सामर्थ्यको प्रयोग गर्न नसकेको भन्दै दुःख व्यक्त गर्नुभयो । संस्कृत शिक्षालाई ब्राह्मणको शिक्षा भनिए पनि ब्राह्मण नै संस्कृत शिक्षा मास्न लागिपरेको बताउनुभयो । गुरुकुल र संस्कृत शिक्षाको प्रवर्द्धनका लागि आर्थिक पक्ष महत्वपूर्ण रहेको सन्दर्भलाई जोड्दै उहाँले भन्नुभयो, ‘खालि जग्गामा सिस्नो, तीतेपातीको खेती गरी गुरुकुल र संस्कृत शिक्षाको संवद्र्धन गर्न सकिन्छ । जसले नेपालको मात्रै नभएर विश्वकै ध्यानाकर्षण गर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि अनन्तश्री विभुषित स्वामी ज्ञानानन्द सरस्वती महाराजले संस्कृत भाषा मानवमात्रको भाषा नभइ पशुपंक्षी, कीट पतङ्गको समेतको भाषा भएको बताउँदै संस्कृत भाषा कहिल्यै पनि नमासिने बताउनुभयो । संस्कृत भाषा पढ्ने विद्यार्थी हुँदैनन् भन्ने प्रसंगमा उहाँले प्रणाली सही भए सुदूरपश्चिमबाट संस्कृत शिक्षा अध्ययन गर्न विद्यार्थी सोलुखुम्बु पुग्ने बताउनुभयो । हाल उहाँको संरक्षकत्वमा १५०० भन्दा बढी विद्यार्थी गुरुकुल पद्धतिमा अध्ययनरत छन् ।
सो क्रममा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाले २७ भन्दा बढी महिला ऋषि भएको वेदको चिन्तन नजानेर महिलालाई होच्याइएको बताउँदै यसकै कारण संस्कृत शिक्षा ओझेलमा परेको बताउनुभयो । शिक्षा आर्जनका लागि भौतिक पूर्वाधार गौण रहेको बताउँदै चेतना कमजोर रहेको बताउनुभयो । कोइरालाले विभिन्न विषयवस्तु समेटेर कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियोे ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा.लालमणि पाण्डेले विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा विषयगत कुरालाई तालमेल मिलाउनु पर्ने बताउनुभयो ।
वाल्मीकि विद्यापीठका प्रा.डा.भागवत ढकालले संस्कृत पढ्नेहरू कुनै न कुनै रुपमा रोजगार रेहको बताउनुभयो ।
प्रा.डा.विष्णु दाहालले शिक्षा प्रदायक संस्थाका नेतृत्वकर्ताहरुले स्वच्छ भावना लिएर मुल परम्परा अनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।
यस्तै, प्रा.डा.गणेशप्रसाद घिमिरेले संस्कृत शिक्षा भाषा, ज्ञान, विज्ञानसम्मत रहेको बताउँदै संस्कृत पढेकाहरू विश्वविद्यालयहरूमा सेवा आयोगभन्दा स्वआर्जनमै रमाउने गरेको बताउनुभयाे । वेदभूमिमा जन्मिएकाहरूले व्यासको भन्दा प्लेटोले भनेको कुरालाई विश्वास गर्दा संस्कृत शिक्षा संकटमा परेको उहाँको भनाइ छ ।
यस्तै, महर्षि फाउन्डेसनमार्फत् नेपालमा९० भन्दा बढी गुरुकुलाई सहयोग गर्दै आउनुभएका पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाले ५१ वर्षयता अमेरिकमा गुरुकुल सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार जहाँ २७ भन्दा बढी देशका विद्यार्थीले संस्कृत शिक्षा आर्जन गरिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयका शिक्षा विकास अनुसन्धान केन्द्रका निर्देशक एवं अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णचन्द्र शर्माले परिस्कृत भएको भाषा नै संस्कृत भाषा भएको बताउँदै सबै विद्यालयमा संस्कृत शिक्षा अनिवार्य हुनुपर्ने बताउनुभयो । नेपालका सबै विश्वविद्यालयमा नेपालको परिचय र दर्शन अनिवार्य हुनुपर्ने उहाँले बताउनुभयो ।
गोष्ठीका संयोजक बलबहादुर केसीले संस्कृत संरक्षण अभियानको रुपमा अघि बढेको बताउँदै अब नरोकिने बताउनुभयाे ।
स्वस्तिवाचन सहित शुभारम्भ गरिएको उक्त कार्यक्रममा समाजसेवी प्रकाशसिंह कार्की, समाजसेवी पुण्यप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता मातृका निरौला, समाजसेवी एवं महावाणिज्यदूत आङछिरिङ शेर्पा, समाजसेवी भरतराज पौडेल, आचार्य पिताम्वर निरौला, विपिसंस्कृत मावि पुर्वविद्यार्थी समाजका अध्यक्ष उपप्राध्यापक दीपक निरौला, गोबर्धन निरौला, हुतराज बस्नेत, निरकुमार शर्मा, केदार काफ्ले, वेदप्रसाद वन, बाबुराजा केसी, मन्दिरा कार्की, हिमालदर्शन मावि पुर्व विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोला, विपिसंस्कृत मावि पुर्वविद्यार्थी समाजका सचिव नारायणप्रसाद निरौला, प्राध्यापक केशव निरौला, भरत काफ्ले लगायत करिब ५० जनाको सहभागिता रहेको थियोे ।