× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

उपनिर्वाचनको सबै नतिजा सार्वजनिक, कहाँ कसले जित्यो ? (विवरणसहित)

Simrik Online

१७ मंसिर २०८१, मंगलवार

काठमाडौं । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति मतपरिणाम सार्वजनिक भएको हो ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल ५ हजार ३३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४ हजार ५५५ मत प्राप्त गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले ४ हजार ३२७ र स्वतन्त्र उमेदवार राजमान महर्जनले २ हजार ३६ मत प्राप्त गरे ।
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उमेदवार उमा लुंगेली मगर शेर्पा विजयी भइन् । उनले २ हजार ८०५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उमेदवार निम लेकी शेर्पाले २ हजार ६०० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । नेपाली कांग्रेसका उमेदवार पासदिकी तामाङले १ हजार ७२७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का रविना खड्काले ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भएकी छन् । नेपाली कांग्रेसका उमेदवार सविता बुढालाई पछि पार्दै माओवादी केन्द्रका उमेदवार तिमिल्सिनाले ४३ मत अन्तरले विजयी भएकी हुन् ।  सर्केगाडमा ६ हजार ८ सय १० मतदाता रहेकामा  ४ हजार ५ सय २४ मत खसेको थियो । तिमल्सिनाले १ हजार ६३७ मत ल्याएर विजय हाँसिल गरेकी हुन् । उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५९४, नेकपा एमालेकी जाना शाहीले १ हजार १३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी संगीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उमेदवार नरेश शाहीले ९ मत प्राप्त गरे ।
आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे ५५९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी मोहन खड्काले ५२५, नेपाली कांग्रेसका नवराज बस्नेतले ४०४, जनता समाजवादी पार्टीका राजकुमार राईले २०७, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले १२३ मत प्राप्त गरेका छन् ।

मत परिणामअनुसार :
कांग्रेसले कीर्तिपुर नगरपालिकाको प्रमुखसहित १६ वडाध्यक्षमा जीत हाँसिलगर्दा १७ पदमा विजय गरेको छ । भने नेकपा एमाले १ गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र ५ वटा वडामा री ८ पदमा विजयी भएको छ । यस्तै माओवादी केन्द्रले १ गाउँपालिका अध्यक्ष, २ गाउँपालिका उपाध्यक्ष र १ नगरपालिका उपप्रमुखसहित ७ वटा वडा सहित जम्मा ११ पदमा जीत हाँसिल गरेको छ । त्यस्तै जसपा नेपाल दुई, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी एक/एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उमेदवारले पनि वडाध्यक्षमा स्थान बनाएका छन्
कूल ४४ पदका लागि उपनिर्वाचनको कार्यतालिका रहे पनि आइतबार ४१ पदका लागि मात्रै मतदान भएको थियो ।
ओखलढुंगा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगंगा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचन आयोगका अनुसार नगरपालिकाका प्रमुख १ जना, उपप्रमुख १ जना, गाउँपालिकाका अध्यक्ष २ जना, उपाध्यक्ष ४ जना तथा वडाध्यक्ष ३३ जना गरी जम्मा ४१ पदका लागि भएको उपनिर्वाचनमा राजनीतिक दलका २७४ जना र स्वतन्त्र २०२ जना गरी जम्मा ३ सय ७६ जना उमेदवार थिए ।

कहाँ को निर्वाचित ?

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गरे ।
दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १२७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गरे ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार २७२ मत पाई निर्वाचित भइन् ।
रुकुम (पूर्व भाग)को पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार ६२७ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उमेदवार केशकुमारी तुलाचनले २ हजार १२८ मत मात्रै पाइन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन् । उनले एक हजार ७४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार ४७४ मत पाइन् ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन ३५३ मतसहित विजयी भइन् । उनको निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उमेदवार लक्ष्मीप्रसाद ओली ४९३ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले ३५६ मत पाए ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४४० मत प्राप्त गरी विजयी ए । उनीसँग एमालेका बुद्धबहादुर लिम्बू ३६० मत प्राप्त गरी पराजित भए ।
सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु ८१६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार ७९४ मत प्राप्त गरी पराजित भए ।
ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ ३९९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका घनश्याम दाहाल १७७ मत पाएर पराजित भए ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भए । उनले ९२३ मत पाउँदा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत प्राप्त गरे ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनीसँग कांग्रेसका भूलियादेवी थरुनी ५८७ मत मात्र प्राप्त गरी पराजित भए ।
डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव ३७२ मत प्राप्त गरी विजयी भए । उनको प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले २७७ मत पाए ।
धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट ६८४ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ ६३१ मत प्राप्त गरी निर्वाचित भए । उनको प्रतिस्पर्धी आइतीकुमारी यादवले ५३४ मत प्राप्त गरे ।
रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित विजयी हुँदा एमालेका शेख अनवारले ५७५ मत प्राप्त गरेका थिए ।
गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरंगी प्रसाद यादवले ६५५ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका जीउतीदेवी यादवले ६३१ मत पाएको आयोगले जनाएको छ ।
रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम ७४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह ४६३ मत पाई पराजित भए ।
नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मत प्राप्त गरी विजयी भए । कांग्रेसका सूर्य तामाङले ५ सय ८७ मत प्राप्त गरे ।
काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले २ हजार ९०२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरी पराजित भएको आयोगले जनाएको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए । एमालेका हर्ष महर्जनले ४९८ मत पाए ।
वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए । उनले ७४२ मत पाउँदा स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४९५ मत पाए ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार ५६० मतसहित पराजित भए ।
गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी भाइकाजी आलेले ४०२ मत मात्र पाए ।
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार १८४ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी एमालेका दलबहादुर थापाले ९३० मत पाए ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार १५० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका दिनेशकुमार यादवले एक हजार ७६ मत पाए ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर ६४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले  ५३५ मत पाए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उमेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी शेरबहादुर थारुले ६७८ मत पाए ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नरबहादुर रोकाले ११६ मत पाए ।
कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मतसहित विजयी हुँदा प्रतिस्पर्धी माओवादीका नौशोभा शाही ११५ मतमा सीमित भइन् ।
जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले ३३२ मत पाए ।
दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही ५७४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका रेशमबहादुर शाहीले ५७१ मत पाए ।
रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी माओवादीका जसीराम बस्नेतले ५३७ मत पाए ।
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका लखीचन्द्र बोहोरा ४८७ मतमा सीमित भए ।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा ४६८ मतका साथ निर्वाचित भए ।  उनका निकटतम प्रतिस्पर्धी एमालेका देवबहादुर थापाले ३०१ एक मत पाए ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल ३५८ मतमा सीमित भए ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार १०७ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले ४८७ मत ल्याए । रासस