✍️राजेश अग्रवाल
विदेशबाट अर्बौं रुपैयाँको अलकत्रा (बिटुमिन) आयात गरी सडक निर्माण गरिने योजनाको साटो सिमेन्टको प्रयोग गरी आरसीसी ढलानयुक्त सडक निर्माण गर्ने उपयुक्त विकल्प हुन सक्छ
दुई वर्षदेखि नेपाली सिमेन्ट भारत निर्यात हुन थालेको छ । नेपालको सिमानादेखि करिब १ हजार किमिको दूरीमा रहेका भारतको मध्यप्रदेश र राजस्थानभन्दा नजिक चुनढुंगा खानीको उपलब्धता नभएकाले भारतको सीमावर्ती बंगाल, बिहार र उत्तर प्रदेशमा नेपाली सिमेन्ट र क्लिंकर निकासीको प्रचुर सम्भावना छ ।
यसमाथि सरकारले निर्यातमा नगद अनुदानको घोषणा गरी निर्यात प्रोत्साहनमा साथ दिएकाले विगत दुई वर्षभित्रमै नेपाली सिमेन्ट र क्लिंकर धमाधम भारत निकासी हुन थालेको हो । नेपाली क्लिंकर र सिमेन्टले भारतीय बजार विस्तार गर्दै जान थालेपछि रोटरी प्रविधिका १४ मध्ये १० वटा उद्योगले यस अवधिमा झन्डै १० अर्ब रुपैयाँबराबरको क्लिंकर र सिमेन्ट निर्यात गरेका छन् ।
नेपाली क्लिंकर र सिमेन्ट भारतमा निकासी वृद्धि भई भारतीय बजार तताइरहेका बेला भारत सरकारले भारत निकासी हुने नेपाली सिमेन्टमाथि बीआईएस (ब्युरो अफ भारतीय स्ट्यान्डर्स) गुणस्तर नवीकरण नगरेकाले नेपाली निकासी हतोत्साहित हुन थालेको छ । वर्षौंदेखि मिहिनेत गरेर तयार पारिएको भारतीय बजार अब गुमाउनुपर्ने हो कि भन्ने भयले नेपाली व्यवसायी चिन्तित छन् । नेपाली निर्यातलाई सुचारु र सहज बनाउन जुन किसिमको चासो र प्रयास नेपाल सरकारका तर्फबाट हुनुपर्ने हो, त्यो पनि अहिलेसम्म भएको देखिएको छैन ।
२०६० को दशकपछि सरकारले चुनढुंगा खानी उपलब्धताको सहजता र उत्खनन तथा ढुवानीका लागि आवश्यक पूर्वाधारमा ध्यान पुर्याउँदा नेपालमा सिमेन्ट उद्योग सञ्चालन गर्न निजी क्षेत्र आकर्षित भएको थियो । त्यसपछि आफ्नै स्वदेशी कच्चा पदार्थ (क्लिंकर) मा आधारित रहेर स्वदेशी सिमेन्ट उत्पादनको लहर नै सुरु भएको हो ।
२०५५ देखि २०६० सालसम्म भारतबाट क्लिंकर, जिप्सन र फ्लाइअसको आयात गरी त्यसलाई पिनेर ‘ग्रान्डिङ’ प्रणालीबाट सिमेन्ट उत्पादनको सुरुवात भएको थियो । जब कि, त्यतिबेला नेपालमा सरकारीस्तरबाट उदयपुर र हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा थिए । २०७० को दशकमा आइपुग्दा नेपालमा आफ्नै क्लिंकरसहित सिमेन्ट उत्पादन गर्ने रोटरी क्लिन प्रविधिका १४ ठूला सिमेन्ट उद्योग र ६ वटा भीएसके पुरानो प्रविधिका सिमेन्ट उद्योग सञ्चालनमा आए ।
क्लिंकर र सिमेन्टमा हुने गरेको शतप्रतिशत आयातलाई प्रतिस्थापित गरी नेपाल क्लिंकर र सिमेन्टमा आत्मनिर्भर बन्यो । वार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको हुने क्लिंकर र सिमेन्टको आयात रोकियो । सरकारले सही औद्योगिक नीति लिएर सकारात्मक ढंगले भूमिका निर्वाह गरेमा निजी क्षेत्रको मनोबल उठ्ने र स्वदेशमै औद्योगिक क्रान्ति ल्याउन सकिन्छ भन्ने यो एउटा उदाहरण पनि हो ।
एक दशकदेखि नेपालमा सिमेन्टको खपतमा वृद्धि हुन सकेको छैन । सिमेन्टको माग बढ्दो छैन, बरु घटिरहेको छ । यसको मुख्य कारणमा नेपाली नागरिक फछिल्ला वर्षमा विदेशिने क्रम बढेको, रसिया र युत्रेन युद्धलगायतको आर्थिक मन्दीले निजी क्षेत्रबाट निर्माण गरिने होटल, सपिङ मल, उद्योग, गोदामजस्ता भौतिक संरचना निर्माणका कार्य शून्य बराबर नै छ ।
नेपाली युवा विदेश पलायन हुने क्रम बढेपछि यहाँ बस्ने व्यक्ति नै नभएपछि कसका लागि घर निर्माण गर्ने ? निर्माण सकिएका घर नै अहिले धमाधम खाली हुन थालेका छन् ।
सरकारी स्तरमा पनि विकास निर्माणका लागि पुँजीगत बजेट पर्याप्त नहुनु, ठेकेदारको भुक्तानी समयमा हुन नसक्नु लगायतका कारणको प्रत्यक्ष असर नेपालका सिमेन्ट र छड उद्योगमा परेको छ । विगत एक दशकमा मुलुकमा निर्माण कार्य सुस्ताउन थालेपछि सिमेन्ट र छडको मागमा कमी हुँदै जान थालेको हो ।
सिमेन्ट र छड उद्योग खुल्ने र सञ्चालन हुने क्रम पनि जारी नै छ । बजारमा माग र आपूर्तिको विश्लेषण नै नगरी स्वयं व्यवसायीले पनि देखासिकीको भरमा धमाधम उद्योग खोल्दै जान थालेका छन् । बैंक तथा वित्तीय संस्थाले पनि बजारको विश्लेषणबिनै लगानी बढाउँदै गएका छन् । सरकारले पनि बजारले धान्न नसक्ने गरी थप उद्योग खोल्न नियन्त्रण र कडाइ गर्ने योजना तथा नीति अवलम्बन गरेको पाइँदैन । बजारमा माग नबढ्ने तर उत्पादन बढ्दै जान थालेपछि समस्या थपिँदै छ । आन्तरिक खपत पनि कम हुँदै जानु ठूलो समस्या हो भन्ने कुरा सरकारले पनि बेलैमा चाल पाउनु जरुरी छ ।
आन्तरिक खपत कम हुनुको नतिजा हामीले कोभिड संक्रमणकालमा बेहोरिसकेका छौं । त्यतिबेला क्लिंकरसहित उत्पादन गर्ने सिमेन्ट उद्योगले क्षमताभन्दा ३० देखि ४० प्रतिशतसम्म घटाएर उत्पादन गर्न बाध्य भएका थिए । ग्राइन्डिङ प्रणालीमा सञ्चालित कतिपय सिमेन्ट उद्योग टाट पल्टिए र अन्ततः बन्द नै भए । सम्बन्धित व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरकारको दूरदर्शिताको कमीले शतप्रतिशत आयातलाई प्रतिस्थापन गरेका नेपाली सिमेन्ट उद्योग यो स्थितिमा पुग्नु निश्चय नै दुःखदायी कुरा हो ।
नेपालमा सञ्चालित ४५ वटा ग्रान्डिङ प्रणालीमा आधारित सिमेन्ट उद्योगमध्ये ३० वटा र भीएसके प्रणालीका ६ उद्योगमध्ये ५ वटा बन्द भइसकेका छन् । आफ्नै क्लिंकरसहितको उत्पादन गर्ने रोटरी प्रविधिका १४ उद्योगले आफ्नो उत्पादन क्षमताको ४० प्रतिशत घटाएर उत्पादन गरेका छन् ।
सिमेन्ट उद्योगमा यो दुःखदायी अवस्था आउनुका पछाडि माग तथा खपतभन्दा पनि उत्पादन धेरै हुनु मुख्य कारण हो । हाल नेपालमा सिमेन्टको खपत वार्षिक ९० लाख टन छ भने उद्योगको उत्पादन क्षमता ३ करोड टन बराबर छ । धराशायी अवस्थामा पुगेका स्वदेशी सिमेन्ट उद्योगलाई सरकारले उपयुक्त नीति, योजना र पहल गरे अझै पनि जोगाउन सकिने सम्भावना उत्तिकै छ ।
नेपालमा छड उद्योगको अवस्था पनि सिमेन्ट उद्योगको भन्दा पृथक् छैन । सिमेन्ट र छडको सम्बन्ध भनेको नङ र मासुको जस्तै हो । अर्थात् सिमेन्टको खपत हुने स्थानमा छडको पनि खपत हुन्छ । माग र खपतको विश्लेषण नगरी जसरी सिमेन्ट उद्योग धमाधम खुले त्यस्तै किसिमबाट छड उद्योग पनि खुल्दै गए । मागभन्दा धेरै उत्पादन हुन थाल्यो ।
पछिल्लो समय छड उद्योगमा लगानी गर्ने व्यवसायी राजनीतीकरणको सिकार बनेका छन् । स्वदेशमै रहेका फलाम खानीको अध्ययन गरी फलामे धाउको उत्खनन गरी उपयोगमा ल्याउने नीति र योजनालाई लागु गर्नुपर्छ । स्वदेशी फलाम खानीहरूको उत्खनन गरी निकालिने फलामे धाउलाई प्रशोधन गर्दै स्पन्ज आइरन हुँदै फलामे ब्लेडको उत्पादन स्वदेशमै प्रचुर मात्रामा गर्न सकिन्छ ।