× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

पर्यटन प्रवर्द्धनका लागि अभिनेता हमालसहित दुई सय अगुवा गौरीटापमा

Simrik Online

२६ बैशाख २०८२, शनिबार

सोलुखुम्बु । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको स्पार्क एडभेन्चरअन्तर्गत अभिनेता राजेश हमालदेखि विभिन्न क्षेत्रका दुई सय अगुवा सोलुखुम्बुको पत्ताले र गौरीटाप क्षेत्र आइपुगेका छन् । हमालसहित अभिनेता तथा क्याप्टेन विजय लामा, गायक राजु लामा, आनी छोइङ डोल्मा, आस्था राउत, कलाकार सन्दीप क्षेत्री, उद्योगी व्यवसायीलगायत २ सय जनाको टोली विद्युतीय गाडीमार्फत ३ हजार मिटरको उचाइमा रहेको गौरीटाप आइपुगेको हो । शुक्रबार राति यहाँ आएका पाहुनालाई सुत्नका लागि १ सयभन्दा बढी टेन्ट टाँगिएको थियो ।
सोलुदूधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा रहेको गौरीटापबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत दर्जनौं हिमाल नियाल्न सकिन्छ ।
काठमाडौंबाट २ सय ३० किलोमिटर दुरी पार गरेर गौरीटाप आएका पाहुनालाई जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौला, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष विना राई लगायतले फूलमालाले स्वागत गरेका छन् ।
अभिनेता हमालले पत्ताले गौरीटाप क्षेत्र नेपालकै आकर्षक पर्यटकीय स्थलको रुपमा आफूले पाएको भन्दै सबैले आफ्नो देश एकपटक अनिवार्य घुम्नुपर्ने बताए । पर्यटन प्रवर्द्धनमा राज्यले ठोस नीति ल्याउनुपर्नेमा पनि उनले जोड दिए ।
क्याप्टेन लामाले गाडीबाटै नओर्ली सगरमाथा देखिने गज्जबको ठाउँ रहेको भन्दै स्पार्क एडभेन्चरले पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको बताए ।
गायक राजु लामा र आनी छोइङले पत्ताले गौरीटाप अन्तन्तै रमणीय भएको भन्दै नेपालीलाई नजिकबाट सगरमाथा नियाल्ने छोटो गन्तव्य भएको बताए ।
स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले वर्षेनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरिरहेकामा यो पटक सोलुखुम्बु र ओखलढुंगाका लागि केन्द्रित भएको बताए ।