× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

गुरु अस्त : वैदिक दृष्टिकोणबाट गर्न हुने र नहुने कर्महरूको विवेचना

Simrik Online

२८ जेष्ठ २०८२, बुधबार

✍️ शम्भुहरि बास्तोला (वेदान्ताचार्य)

एक शास्त्रीय सन्देश सनातन धर्मप्रेमीहरूका लागि

यही २०८२ सालको जेठ २९ गते देवगुरु बृहस्पति ग्रह अस्त हुने र असार २२ गते पुनः उदय हुने दिन हो । वैदिक ज्योतिष तथा सनातन धर्मशास्त्रमा ग्रहहरूको उदय र अस्त अवस्थालाई अत्यन्त महत्वपूर्ण मानिन्छ। विशेषगरी गुरु (बृहस्पति) र शुक्राचार्य (शुक्र) ग्रहहरूको अस्तकाललाई धार्मिक कार्यका लागि अति संवेदनशील समय मानिएको छ।
शास्त्रअनुसार, कुनै पनि शुभ वा मांगलिक कार्यका लागि बार, तिथि, नक्षत्र, योग, करण र मुहूर्त अत्यावश्यक हुन्छन्, तर कतिपय समयलाई शास्त्रले अशुभ घोषित गरेको छ । त्यसमध्ये एक हो — ग्रह अस्तको समय । अशुभ समयमा मांगलिक कार्य गर्नु वर्जित मानिन्छ ।

गुरु अस्तको धार्मिक, ज्योतिषीय र शास्त्रीय विवेचना :

गुरु (बृहस्पति) ग्रह सूर्यसँगको निकटताका कारण “तेजोहीन” (अस्त) हुने गर्दछ। अस्त हुँदा वा उदाउँदा सूर्यको तेजमा ग्रह ओझेलमा पर्छन्, जसले गर्दा तिनीहरूको प्रभाव क्षीण हुन्छ।
शास्त्र भन्छ:
“गुरु वा शुक्र अस्त हुँदा उनीहरूबाट प्राप्त हुने तत्त्व वा प्रभाव हमीमा पुग्दैन । त्यसैले यस्तो समयलाई अशुभ मानिन्छ।”
ज्योतिषीय मान्यताअनुसार, गुरु अस्त हुनु अघि डेढ दिन र उदय पछि डेढ दिनसम्म पनि कुनै पनि मांगलिक वा काम्य कर्म गर्नु निषेध गरिएको छ। यस अवस्थालाई वृद्धत्व र शिशुत्व दोष भनिन्छ — जुन बेला ग्रह अस्थिर र अल्पशक्ति भएका हुन्छन्।
गर्न हुने कार्यहरू (नित्य तथा नैमित्तिक कर्महरू)

शास्त्रीय दृष्टिमा निम्न धार्मिक कर्महरू गर्न सकिन्छ:
स्नान, ध्यान, सन्ध्या वन्दन, जप, तप, पाञ्चायन पूजा
दुर्गा पूजा, चौमासा व्रत, तुलसी पूजा, तुलसी विवाह, शान्ति-स्वस्ति
जन्माष्टमी, शिवरात्रि, रामनवमी, नवरात्रि आदि पर्व-तिथि पूजन
श्राद्ध, तर्पण, मृतकको क्रियाकर्म, न्वारान, मासिक तर्पण
ग्रहणकालमा आवश्यक स्नान, पूजा आदि नैमित्तिक कार्य
यी सबै नित्य वा नैमित्तिक श्रेणीमा पर्छन्, जसमा ग्रहबलको निर्भरता कम हुन्छ।

गर्न नहुने कार्यहरू (काम्य तथा मांगलिक कर्महरू) :

गुरु वा शुक्र अस्त हुँदा र तिनको वृद्ध वा शिशु अवस्था रहने बेला निम्न कार्यहरू पूर्णतः निषेध छन्:
विवाह, व्रतबन्ध (यज्ञोपवीत), उपनयन, मुण्डन, अन्नप्राशन,
नयाँ घरको निर्माण आरम्भ, गृहप्रवेश, वास्तु पूजा, देव प्रतिष्टा,
वेदारम्भ, मन्त्रोपदेश, दीक्षा ग्रहण, गोदान, महादान, तीर्थ यात्रा,
सप्ताह, नवाह, कोटिहवन, यज्ञ, रुद्राभिषेक, प्राणप्रतिष्ठा,
नयाँ व्रत आरम्भ, व्रत समापन (उद्यापन), तडाग/कुवा निर्माण,
देवस्थान वा तीर्थको पहिलो दर्शन, संन्यास ग्रहण, अग्निहोत्र,

शास्त्रमा स्पष्ट भनिएको छ :
“दीर्घायु, प्रतिष्ठा र पुण्य चाहनेले यस्तो अस्त समय भित्र कुनै पनि काम्य कर्म गर्नु हुँदैन।”

शास्त्रीय श्लोकमा उल्लेख गरिएको छ:
“वापीकूप तडाग यज्ञ गमने क्षौरं प्रतिष्ठा व्रतं ।
विद्या मन्दिर कर्णवेधन महादानं गुरोः सेवनम् ॥”
अर्थात् यस्ता कार्य गुरु/शुक्र अस्तको समयमा, शिशुत्व र वृद्धत्व अवस्थामा वा मलमास/क्षयमासमा निषिद्ध मानिन्छन्।
निष्कर्ष :
सनातन धर्म, वेद, शास्त्र, ऋषिवचन र गुरु आज्ञा सदा सत्य रहन्छन्। हामी सबै धर्मावलम्बीहरूको कर्तव्य हो कि हामी शास्त्रीय निर्देशानुसार कार्य गरौं, र शास्त्रद्वारा निषेध गरिएको समयमा धर्मकर्म नगरी शुद्ध समय कुर्ने संयम राखौं । गुरु-शुक्र अस्तको समयमा काम्य कर्म नगर्नुहोस्, धर्ममार्गमा रहनुहोस् — यही धर्मको मर्यादा हो।
ॐ तत्सत् !