काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार प्रमुख रहँदा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त विचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तकको रुपमा ल्याएको हो ।
जनयुद्ध गरेर शान्ति प्रक्रियामा आएपछि दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्दा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त प्रस्तुत पुस्तकमा उपलब्ध छन्।
पुस्तकमा प्रधानमन्त्रीत्व कालका दुई अवधिलाई दुई खण्डमा विभाजन गरिएको छ । पुस्तकमा प्रचण्ड प्रधानमन्त्री रुपमा रहँदाको पहिलो कार्यकालका १५ वटा सम्बोधनहरु समेटिएका छन् भने दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई पुस्तकको अर्को अंश बनाइएको छ । पाठकलाई सजिलो होस् भनेर परिशिष्टमा नेकपा अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वकालमा भएका प्रमुख काम र उपलब्धिहरुलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ । पुस्तकमा ४०४ पृष्ठहरु रहेका छन् भने मूल्य रु. ७५० रहेको छ ।