दार्चुला । नेपाली सेनाले दार्चुलाको सदरमुकाम खलंगादेखि घाटीबगड हुँदै छाङरु जाने गोरेटो बाटोको निर्माण गरेको छ। नेपाली सेनाले जेठ ८ गतेदेखि उक्त गोरेटो बाटो निर्माण सुरू गरेको थियो। उक्त गोरेटो बाटो करिब चार महिनाभित्र सम्पन्न भएको हो।
सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्थानीय सरकारलाई बाटो हस्तान्तरण गरेका छन्। कार्यक्रममा सेनाका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो। विगत तीन वर्षदेखि बाटो अवरुद्ध रहेकोले दार्चुलाको व्यास नगरपालिका वडा नं. १ का स्थानीयले नेपालकै अर्को ठाउँमा जान समेत भारतीय भूमि प्रयोग गर्नुपरेको थियो।
बाटो बनाउनका लागि वैशाख १४ गतेको मन्त्रिपरिषद बैठकले सेनालाई जिम्मेवारी दिएको थियो। नेपाल सरकारबाट १ करोड ८ लाख ३६ हजार निकसा भएपछि ४५० मिटर लामो र दुई मिटर चौडा बाटो बनाउने प्रारम्भिक लक्ष्य रहेको भए तापनि जमिनको बनावट र आवश्यकताको कारण ५५० मिटर बाटो बनाइएको सेनाले जनाएको छ।
प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विष्फोटक पदार्थ प्रयोग गरी फोडी गोरेटो-घोडेटो बाटो निर्माण गर्नु परेकोले अनुमान गरिएभन्दा बढी समय लागेको सेनाले जनाएको छ। बाटो निर्माण कार्यमा नेपाली सेनाको तर्फबाट सेनानीको नेतृत्वमा ६५ जना सैनिकले भाग लिएका थिए। सेनाका अनुसार एक पटकमा १३ जना भन्दा नबढाई ३३ जना अर्धदक्ष स्थानीय श्रमिकहरूलाई रोजगार प्रदान गरिएको थियो।
भदौ १९ गते खसेको ढुङ्गा लागि घाइते एक स्थानीय श्रमिक देवानसिंह धामीको उपचारका लागि हेलिकप्टरबाट सदरमुकाम ल्याउँदा मृत्यु भएको थियो। नेपाली सेनाले सबै श्रमिकहरूको बिमा गर्ने गरेकोले नियमानुसार बिमा बमोजिमको १० लाख बराबरको चेक मृतककी श्रीमती लक्ष्मी धामीलाई हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ। त्यस्तै, मृतक धामीको योगदानको उच्च मूल्यांकन गर्दै मृतककी श्रीमतीलाई प्रधानसेनापति प्रशंसा निशानसमेत सेनाले दिएको बताइएको छ।