सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको उपचार खर्च ब्यक्ति स्वयंले ब्यहोर्नु पर्ने घोषणा गरेर सरकारले जनताको स्वास्थ्य मौलिक हक हो भन्ने संवैधानिक ब्यबस्थाको खिल्ली उडाएको आरोप लगाएको छ।
आर्थिक रूपमा टाट पल्टिएका जनताको उपचारको जिम्मा स्वयं ब्यक्तिलाई लगाएर सरकार आफ्नो दायित्वबाट पन्छिनु गैरजिम्मेवारीको पराकाष्ठा भएको भन्दै सोलुखुम्बु कांग्रेस सभापति बिनोदकुमार बस्नेतद्वारा हस्ताक्षरित बिज्ञप्तिमा सो आरोप लगाइएको हो।बस्नेतद्वारा बुधबार जारी विज्ञप्तिमा कोरोना संक्रमित सम्पुर्ण जनताको तत्काल नि:शुल्क उपचारको ब्यबस्था मिलाउन समेत माग गरिएको छ।
पछिल्लो समय सोलुखुम्बु जिल्लामा पनि कोरोना संक्रमण बढ्दै गएको उल्लेख गर्दै सभापति बस्नेतले स्थितिलाई काबुभन्दा बाहिर जान नदिन कोरोना लक्षित कार्यक्रम ल्याएर समयमै नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन्। कोरोनालाई समुदायस्तरमा फैलन नदिन जिल्लाबासी नागरिकहरुलाई सचेत हुन आग्रह गर्दै जारी गरिएको विज्ञप्तिमा कोरोना सम्बन्धी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न जिल्लाबासीहरुमा पनि अपिल गरिएको छ। नेपाली कांग्रेस सोलुखुम्बुले यथास्थानमा नै रहेर चाडपर्व मनाउन पनि जिल्लाबासीहरुलाई आग्रह गरेको छ।