काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिमा बजार निरीक्षण अनुगमन गर्दा बजारमा आउने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको हो।
विभागले प्रथम चौमासिक अवधिमा बजार निरीक्षण अनुगमन गरी १ हजार १ सय ८९ नमुना संकलन छ। संकलित नमुनाहरूको विश्लेषण परीक्षण गर्दा ७० वटा नमुना खाद्य ऐनको मापदण्डअनुसार छैन। मापदण्डअनुसार नपाइएका ७० नमुनामध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीमा नै गुणस्तरहीन र दूषित पाइएको छ।
विभागको प्रथम चौमासिक अवधिमा बजार अनुगमन प्रतिवेदनअनुसार ७० नमुनामध्ये २१ नमुना प्रशोधित पिउने पानी दूषित र गुणस्तरहीन फेला परेको छ। यसैगरी, दानाका १६ नमुना, तेल तथा घ्युजन्य नमुना १४ र खाद्यान्न १० लगायतका अन्य खाद्यपदार्थका नमुना मापदण्डविपरीत गुणस्तरहीन पाइएको छ।
विभागले आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिमा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसुरमा २६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको जनाएको छ। मुद्दा दायर गरिएका २६ थान मुद्दामध्ये सबैभन्दा धेरै प्रशोधित पिउने पानीका नै छन्। २६ थान मुद्दामा ५ मुद्दा प्रशोधित पिउने पानीका छन्। त्यस्तै खाने तेल ३, बेकरी ३, दाना २, चाउचाउ २, मिठाई २ का साथै घ्यू, दही, चामल, सस, काजु किसमिस, खाद्य रंग, बियर, मटर फ्राइजस्ता खाद्य पदार्थ छन्। ती मुद्दामध्ये आठवटा न्यून गुणस्तरका, सातवटा दूषितका, सातवटा मुद्दा लेबललगायत विवरण नमिलेका तथा बाँकी चारवटा मुद्दा खाद्य ऐन नियम निर्देशिका उल्लंघन गरेका थिए।
चौमासिक प्रतिवेदनअनुसार विभागले खाद्य र दाना उद्योग, होटल रेस्टुरेन्ट, राजमार्गका होटललगायत १ हजार ८ सय ७३ पटक निरीक्षण अनुगमन गरिएको छ। पहिलो चौमासिक अवधिमा प्रशोधित पिउने पानीको गुणस्तर, खाने तेलको गुणस्तर, होटल रेस्टुरेन्ट, चामलको गुणस्तरलगायतका विभिन्न विषयका जम्मा १ सय ५३ उजुरीउपर कारबाही गरिएको छ।
आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिक अवधिमा विभागले निरीक्षण अनुगमनमा खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन गरेको नपाइएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दी गरेको छ। साथै नमुना संकलन गरी कारबाही अघि बढाइएको विभागले जानकारी गराएको छ। उत्पादन रोक्का एवं सिलबन्दी गरिएका ३४ वटा उद्योग एवं खाद्य व्यवसायमध्ये प्रशोधित पिउने पानीका १५ खाद्यान्न तथा दलहनका ८, दूध तथा दुग्ध पदार्थका ६, तेल तथा घ्यूजन्यका ३ र अन्य ३ खाद्य व्यावसाय रहेका छन्।-राजधानी।