× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

नेपाल प्रहरी समायोजन सम्बन्धि प्रारम्भिक काम सुरु

Simrik Online

१८ मंसिर २०७७, शुक्रबार

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजनका लागि ओएनएम पास भएलगत्तै समायोजनको प्रारम्भिक प्रक्रिया अघि बढाएको हो।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीलाई केन्द्र र प्रदेशमा समायोजन गर्न मन्त्रालयले समायोजन सचिवालय बनाएर काम सुरु गरेको हो। सो सचिवालयमा प्रहरी प्रधान कार्यालयले एक जना एसएसपीलाई प्रतिनिधि तोकेको छ। सचिवालयको नेतृत्वमा भने प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव थानेश्वर गौतम छन्। सो सचिवालयले नेपाल प्रहरीको एप अध्ययन गरेर सोही एपमार्फत समायोजनका लागि सर्कुलर आह्वान गर्नेछ।

केन्द्र : २४४००
प्रदेश १ : १०७१७
प्रदेश २ : ९१५२
बाग्मती प्रदेश (उपत्यकाबाहेक) : ७७२७
गण्डकी प्रदेश : ६७४५
लुम्बिनी प्रदेश : ९४४३
कर्णाली प्रदेश : ५४५८
सुदूरपश्चिम प्रदेश : ५९०१

यसरी एपमार्फत फर्म भर्न सर्कुलर गर्दा कुनै प्रदेशमा आवश्यक पर्नेभन्दा धेरै संख्यामा प्रहरी रहेको पाइए सहमतिबाट छिमेकी प्रदेशमा राख्न वा अन्यत्र पठाउने व्यवस्था हुनेछ।

यसैगरी कम्प्युटर शाखा, मुद्दा शाखालगायतमा रहेका प्राविधिक जनशक्तिका विषयमा भने म्यानुअल्ली निर्णयसमेत हुन सक्ने सम्भावना छ। गृह मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख गौतमले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएसँगै प्रहरी समायोजनको प्रारम्भिक प्रक्रिया अघि बढेको बताए।

जसअनुसार केन्द्रअन्तर्गत रहने नेपाल प्रहरीका लागि २४ हजार ४ सय जनाको दरबन्दी कायम गरिएको छ भने प्रदेश प्रहरीका लागि ५४ हजार संख्या कायम गरिएको छ।

गृह मन्त्रालयले गत २८ साउनमा पठाएको ओएनएमलाई मन्त्रिपरिषद्ले गत १ मंसिरमा पास गरेको थियो। मन्त्रिपरिषद्बाट पारित ओएनएममा उपत्यकाको सुरक्षाको नेतृत्व एआईजीलाई तोकिएको छ। एआईजी नेतृत्वमा रहने उपत्यका प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा व्यवस्थाको जिम्मेवारी सम्हाल्नेछ। समायोजनपछि महानगरीय प्रहरी कार्यालयको नाम उपत्यका प्रहरी कार्यालय रहनेछ।

गृह मन्त्रालयले कुन प्रदेशमा कति प्रहरीको दरबन्दी रहने भन्ने संख्यासहित प्रस्ट खाका तयार गरेको छ। यस्तै समायोजन हुँदा ज्येष्ठता, गृह जिल्ला, इच्छुक संख्या र एक वर्षभन्दा बढी सो प्रदेशमा काम गरेको सहित ६ आधारमा समायोजन गर्ने आधार बनाइएको छ।

समायोजन खाकाअनुसार समायोजनमा जाँदा सबैभन्दा धेरै प्रहरी प्रदेश १ मा र सबैभन्दा कम संख्या कर्णालीमा रहनेछ। केन्द्रमा रहने नेपाल प्रहरीमा २४ हजार ४ सय दरबन्दी रहनेछ।

स्रोतका अनुसार प्रदेश १ मा १० हजार ७ सय १७ प्रहरी रहने प्रस्ताव छ। हाल भने प्रदेश १ मा ११ हजार ६ सय ९९ प्रहरीको दरबन्दी छ। समायोजन हुँदा त्यहाँ संख्या घट्नेछ।

यस्तै प्रदेश २ मा ९ हजार १ सय ५२, बाग्मती प्रदेश (उपत्यकाबाहेक)मा ७ हजार ७ सय २७, गण्डकीमा ६ हजार ७ सय ४५, प्रदेश ५ मा ९ हजार ४ सय ४३, कर्णाली प्रदेशमा ५ हजार ४ सय ५८ प्रहरी संख्या रहनेछ। हाल कर्णाली प्रदेशमा ६ हजार १ सय ११ जनाको दरबन्दी छ। यस्तै सुदूरपश्चिममा ५ हजार ९ सय १ प्रहरीको दरबन्दी प्रस्तावित छ। हाल नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४२ छ।

समायोजनमा जाँदा उपत्यका प्रहरी कार्यालय केन्द्र मातहत रहनेछ भने नेतृत्व एआईजीले गर्नेछन्। यसैगरी उपत्यकामा ठूला अपराधजन्य घटना हेर्दै आइरहेको प्रहरीको एकाइ अपराध अनुसन्धान महाशाखा पनि केन्द्र महातहत नै हुनेछ। प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्नेछन्।

यस्तै महानगरीय प्रहरी परिसरको अवधारणामा रहेका उपत्यकाका तीन वटा जिल्ला प्रहरी कार्यालयको नाम समेत परिवर्तन हुनेछ भने वृत्तहरूको पनि नयाँ स्वरूपमा नामकरण हुनेछ।

यसैगरी प्रदेशमा रहेका ट्राफिक प्रहरी कार्यालय पनि केन्द्र मातहत नै रहनेछन् । हाल प्रदेशमा एसपीको नेतृत्वमा ट्राफिक प्रहरी छ। जिल्लास्थित ट्राफिक कार्यालयहरू भने प्रदेश प्रहरीकै मातहत रहनेछन्।-राजधानी।