काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ। मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन्।
नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो। मंगलबार नापी विभागमा भूमिसुधार मन्त्रालयका टोलीसहित परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेशमन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो ।
सगरमाथाको उचाइ पहिलोपटक सन् १८४९मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो। जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो। सन् १८४९ देखि १८५५सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो।
सन् १९५४मा सर्भेअफइन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८हजार ८सय ४८मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आएपनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन। गतवर्ष चिनियाँ राष्ट्रपति सीचिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भएको थियो।