× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

संसद विघटनको विरोधमा सोलुखुम्बु कांग्रेस, परिस्थिति सामनाको तयारीमा रहन अपील

Simrik Online

५ पुष २०७७, सोमबार

मनेश निरौला, सोलुखुम्बु । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको नेपाली काँग्रेस जिल्ला कार्य समिति सोलुखुम्बुले विरोध गरेको छ । आज नेपाली कांग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कुमार कट्टेलले कांग्रेस सोलुखुम्बुका तर्फबाट एक विज्ञप्ति जारी गर्दै सरकारले गरेको असंवैधानिक कदमको विरोध गरेका हुन्।

कांग्रेस सोलुखुम्बुले जारी गरेको विज्ञप्तिको पुर्णपाठ यस्तो छ :

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभा विघटन गरी देश र जनताको अभिमतको कुठाराघात गर्ने गरी असंवैधानिक कदम चालेकोमा नेपाली काँग्रेस सोलुखुम्बु घोर आपत्ति प्रकट गर्दछ । यस कदमले लोकतन्त्रमा आघात पर्नुका साथै जनताको अभिमतको अवमूल्यन भएको हाम्रो ठहर छ ।
नेकपा भित्रको आन्तरिक द्वन्द्वका कारण नेपाली जनताको लामो समय देखिको संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको मर्म माथि प्रहार हुने गरी जनताको मतको अवमूल्यन गर्दै असंवैधानिक ढङ्गबाट संसदको विघटन गर्नु घोर आपत्तिजनक छ, यसबाट कम्युनिष्ट अधिनायकवादी चरित्र उदाङ्गो भएको छ ।
ऐतिहासिक संविधान सभा मार्फत नेपाली जनताद्वारा निर्मित संविधानलाई नै असफल तुल्याउने हेतुले गरिएको संसद विघटन सर्वदा निन्दनीय छ । नेपाली काँग्रेस सधै विधि, पद्धति र लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकोले लोकतन्त्रका तत् तत् मूल्य र मान्यताहरुलाई संरक्षण र संवद्र्धनका लागि जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्न नेपाली काँग्रेस सोलुखुम्बु कटिबद्ध रहकाले उत्पन्न परिस्थितिको सामना गर्न सबै तहका साथीहरु तयार रहन समेत आह्वान गर्दछौं ।
जय नेपाल !

सन्तोष कुमार कट्टेल
प्रवक्ता