काठमाडौं । नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओ नेतृत्वको टोलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । चिनीयाँ टोलीले सोमबार बिहान दाहाल निवास खुमलटारमा भेटवार्ता गरेको हो ।
चार दिने नेपाल भ्रमणमा काठमाडौं आईपुगेका टोलीले नेकपाका नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल सँग पनि भेट्ने कार्यक्रम तय भईसकेको छ ।
टोलीले आइतबार राती प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा विभाजित भएपछि आइतबार आकस्मिक रुपमा चिनियाँ टोली नेपाल आएको हो ।
नेकपा विभाजन रोक्ने प्रयास सफल नभएपछि चिनियाँ कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओसहितको टोलीलाई नेपाल पठाएको स्रोतको दाबी छ ।
राजदूत याङछीले यसअघि नै राष्ट्रपति विद्या देवी भण्डारी, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधव कुमार नेपाल, पूर्वसभामुख कृष्ण बहादुर महरा लगायतसँग भेट गरेर विभाजनका विषयमा चासो र चिन्ता व्यक्त गरिसकेकी छिन् ।