आयुसा बास्तोला, सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सोलुखुम्बुको सल्लेरी आएका नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सोलुखुम्बु कांग्रेसले छेस्काम घटनाका दोषीलाई कारबाही गरिपाउँ भन्दै ध्यानाकर्षण-पत्र बुझाएको छ ।
जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं.३ छेस्कामको छेस्काम माध्यमिक विद्यालयको व्यबस्थापन समितिको निर्वाचन परिणाम सार्वजनिक भए लगत्तै
अध्यक्षका प्रत्यासी उम्मेदवार किशोर कुलुङ सहित नेकपा कार्यकर्ता समुहले प्रधानाध्यापकको कार्यकक्षमा तोडफोड गर्नुका साथै अर्का उम्मेदवार तथा कांग्रेस वडासभापति समेत रहेका विद्याराज राई (कुलुङ) माथि सांघातिक ढंगले आक्रमण गरेको भन्दै सोलुखुम्बु कांग्रेसले गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
आक्रमणबाट टाउको र छातिमा चोट लागि घाइते भएका विद्याराज राईको खाङ्ग्री इन्टरनेशनल अस्पताल काठमाडौंमा उपचार भइरहेको बताइएको छ ।