काठमाडौं । अफगानिस्तानको विद्रोही लडाकु समूह तालिबानले अफगानिस्तानमा ‘युद्ध समाप्त’ भएको जनाएको छ। तालिबानका प्रवक्ता मोहम्मद नइमले समाचार च्यानल अल जजिरालाई दिएको एक अन्तर्वार्तामा यस्तो बताएका हुन्।
तालिबानले अन्तर्राष्ट्रिय समुदायसित शान्तिपूर्ण सम्बन्ध बनाउन चाहेको भन्दै उनले कुनैपनि विषयमा छलफलका लागि तयार रहेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। अल जजिराले अफगानिस्तानको राष्ट्रपति भवनभित्र पुगेका तालिबान लडाकुको भिडियो पनि सार्वजनिक गरेको छ।
प्रवक्ता नइमले शरिया कानुन अनुसार तालिबानले महिला र अल्पसंख्यकका अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने बताएका छन्। उनले तालिबानले कसैको मामिलामा हस्तक्षेत्र नगर्ने नीति अपनाउने भन्दै अफगानिस्तानको मामिलामा पनि अरूलाई हस्तक्षेप नगर्न आग्रह गरे। अफगानिस्तानमा पुनः विदेशी सेना प्रवेश नगरोस् भन्ने उनको भनाइ थियो। रोयटर्सका अनुसार आइतबार तालिबान लडाकु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति अशरफ गनी देश छोडेर भागेका छन्।