× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

कांग्रेसका जिल्ला सभापतिहरुको सानेपामा धर्ना शुरु, यी केन्द्रीय नेताहरुको ऐक्यबद्धता

Simrik Online

७ भाद्र २०७८, मंगलवार

काठमाडौं । महाधिवेशन सम्बन्धि तीन बुँदे माग राख्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा धर्ना शुरु गरेका छन्। मंगलबार विहानदेखि शुरुभएको धर्नामा क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका माग राखिएको छ।

वरिष्ठनेता रामचन्द्र पौडेल निकट मानिएका जिल्ला सभापतिहरुले धर्नामा बसेका छन्। जिल्ला सभापतिहरूको धर्नामा विभिन्न भातृ संगठनका पदाधिकारीहरुले पनि साथ दिएको सोलुखुम्बु जिल्ला सभापति विनोदकुमार बस्नेतले बताए।

मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बूले आफ्ना मागहरु सुनुवाइ नभए धर्ना अनिश्चितकालका लागि जारी राखिने जानकारी दिएका छन्।
धर्ना आलोपालो गरी बस्ने र आज पहिलो दिन काठमाडौंमा उपलब्ध भएका जिल्ला सभापतिहरुले धर्ना दिइरहेको बताइएको छ।

सभापतिहरूको आजको धर्नामा केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुननरसिंह केसी, गगनकुमार थापा, कमला पन्त लगायतले आफैं उपस्थित भएर समर्थन जनाएका छन्।

सभापतिहरूका मागहरु यस्ता छन् :

१.प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्।
२. क्रियाशील सदस्यता तहगत निर्णय गरियको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस्।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस्।