काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले औपचारिक रूपमै विभाजन भएको छ। माधव नेपालको नेतृत्वमा एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले नेकपा एकीकृत समाजवादी नामको पार्टी दर्ता गरेका हुन्। नेकपा एकीकृत समाजवादी पार्टीलाई बुधवार निर्वाचन आयोगले नयाँ दलको रूपमा आधिकारिकता दिने निर्णय गरेको छ।
निर्वाचन आयोगको निर्णयसँगै नेपाल नेतृत्वको नयाँ पार्टीले प्रमाणपत्र पनि पाएको छ। नेकपा एमालेबाट अलग भएर माधव नेपाल पक्षले भदौ २ गते दल दर्ताको निवेदन दिएको थियो। बुधवार निर्वाचन आयोगमा भएको सनाखतपछि आयोगले माधव नेपालको पार्टीलाई आधिकारिकता दिने निर्णय गरेको हो। आयोगले माधव नेपाललाई आधिकारिकता दिएसँगै नेकपा एमाले कानूनीरूपमै फुटेको छ।