× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
निर्वाचन

सभापतिहरूको रिले अनसनमा शीर्ष नेताहरुको ऐक्यवद्धता

Simrik Online

८ भाद्र २०७८, बुधबार

काठमाडौं । क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको रिले अनसनमा वरिष्ठनेता रामचन्द्र पौडेललगायतले ऐक्यवद्धता जनाएका छन्।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले बुधबारदेखि रिले अनशन शुरु गरेका थिए। बुधबारको रिले अनशनका जिल्ला सभापतिसहित पाँच नेता सहभागी छन्। आजको
रिले अनसनमा नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी, धादिङ कांग्रेस सभापति रमेश धमला, काभ्रे कांग्रेस सभापति मधु आचार्य र नेविसंघ पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ पूर्वउपसभापति डिल्लीराम सुवेदी बसेका छन्।

क्रियाशील सदस्यताको सूची पार्टीको वेबसाइटबाट सार्वजनिक गर्नुपर्ने, विधानअनुसार महाधिवेशन प्रतिनिधिले मात्रै जिल्ला सभापति उम्मेदवार हुन पाउने व्यवस्था कार्यान्वयन गर्न उनीहरुको माग छ।

त्यस्तै एकमात्र प्रतिनिधि सभा भएको जिल्लाको हकमा क्षेत्रीय प्रतिनिधि नै सभापति उम्मेदवार हुनपाउने व्यवस्था निर्वाचन निर्देशिकामा विधानविपरीत राखिएको भन्दै हटाउन पनि माग गरेका छन्।

अनसन कार्यक्रममा वरिष्ठनेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा.रामशरण महत र अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, डा.शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, दीपक गिरी, रामकृष्ण यादव, किरण यादव लगायतका नेताहरुले ऐक्यबद्धता जनाएका छन्।