काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठनेता रामचन्द्र पौडेलले नेतृत्व गर्दै आएको समूहले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन गर्न माग गरेको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा शुक्रबार बसेको बैठकले
सबै जिल्लामा वडाअधिवेशन नगर्न खोजेको त होइन भन्ने आशंका ब्यक्त गर्दै भदौ १८ गते हुनगइरहेको वडाअधिवेशन ७७ वटै जिल्लामा गर्न माग गरेको हो।
सभापति शेरबहादुर देउवाले ३७ वटा जिल्लाको मात्र क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेर निर्वाचन समितिलाई दिएकाले सबै जिल्लामा वडा अधिवेशन नगर्न खोजेको त होइन भन्ने पौडेल समूहको आशंका छ। पौडेल समूहले ७७ वटै जिल्लामा एकसाथ वडा अधिवेशन सुरु गर्नुपर्ने भन्दै शुक्रबार नै प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई भेट्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा रिले अनसनमा बसेका जिल्ला सभापतिको माग सम्बोधन गर्न पनि सभापतिको ध्यानाकषर्ण गराइने पौडेल समूहका एक नेताले बताए ।
चाक्सीबारी बैठकमा वरिष्ठनेता पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, डा.रामशरण महत, नेताहरु बलबहादुर केसी, डा.शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल सहभागी थिए।