× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

पहिलो सम्बोधनमा प्रधानसेनापति शर्माका चार मार्गनिर्देशन

Simrik Online

२५ भाद्र २०७८, शनिबार

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारी निर्वाह गर्न चार मार्गनिर्देशक सिद्धान्तलाई प्रमुख आधारका रूपमा अंगीकार गर्ने जनाएका छन्। बिहीबार प्रधानसेनापतिको दर्ज्यानी चिह्न र शपथ लिएपछि रथीवृन्‍दसँग सामान्य अन्तरक्रिया गरेका शर्माले शुक्रबार सकलदर्जालाई सम्बोधन गरेका हुन्। उनको सम्बोधन सबै युनिटमा लाइभ मल्टिकास्ट मार्फत पुर्‍याइएको थियो। प्रधानसेनापतिको पहिलो सम्बोधन नै कार्यकालको मार्गदर्शन बन्ने गरेको हुनाले अधिकले पहिले सम्बोधन छुटाउँदैनन्। सम्बोधनको क्रममा उनले आफ्ना प्राथमिकताहरु र आगामी कार्यदिशाका बारेमा जानकारी गराउँदै सबै तहका सेना (सकलदर्जाहरु)लाई निर्देशन समेत दिएका छन्। उनले आफ्नो चार मार्गनिर्देशन स्पष्ट पारेका छन्।

पहिलो– नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय प्रतिरक्षा नीतिबाट निर्दिष्ट जिम्मेवारीप्रति प्रतिबद्ध भएर अघि बढ्ने।
दोस्रो– सैनिक मूल्यमान्यता, संस्कृति, प्रचलन र परम्पराको जगेर्ना गर्ने।
तेस्रो– विद्यमान र सम्भावित सुरक्षा चुनौती सामना गर्न समयसापेक्ष रूपान्तरित, सक्षम, गतिशील र प्रभावकारी संगठनको विकास गर्दै अघि बढ्ने।
चौंथो– ‘बहुजन हिताय बहुजन सुखाय’ अनुसार विस्तारित कल्याणकारी कार्यमार्फत् सकलदर्जा र तिनका आश्रितको जीवनस्तरमा सुधार गर्ने,’ शर्माले सकलदर्जालाई पहिलो सम्बोधन गर्दै भनेका छन्।

नेपालको संविधानले नेपाली सेनालाई मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना गर्न महत्त्वपूर्ण दायित्व सुम्पेको बताउँदै उनले भने, ‘जस्तोसुकै जटिल परिस्थितिमा समेत संवैधानिक दायित्वलाई प्रभावकारी रुपमा सम्पादन गर्दै राष्ट्र हित र स्वार्थको संरक्षण तथा प्रवर्द्धन गर्नका लागि सदैव तयार रहनु सेनाको प्रमुख कर्तव्य हो।’ प्रधान सेनापतिको भिजन अन्तर्गत नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत संविधानप्रदत्त सम्पूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम, सुदृढ, आधुनिक र व्यावसायिक सैनिक संगठन तयार गरिने उनले बताए। त्यसका लागि, नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच- २०७८ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गरिने उनले बताए।

उक्त ‘भिजन’लाई मूर्तरूप दिन राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्ति विकास, सवल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखी ६ वटा लक्ष्य केन्द्रित कमाण्ड नीति तथा मार्गनिर्देशन- २०७८ जारी गरिएको छ। त्यसलाई कार्यावन्यन तहमा लैजान सबैको सहकार्य आवश्यक रहने भन्दै यसमा अडेर कार्य अघि बढाउन निर्देशन दिएका छन्। कार्यक्रममा रथीवृन्द, अधिकृत, पदिक तथा अन्य सकलदर्जाहरुको उपस्थिती रहेको थियो। सम्बोधन कार्यक्रम पश्‍चात उनले ‘लिडर्स रिडिङ कलेक्सन-२०७८’ संग्रहको विमोचन समेत गरेका थिए। उक्त संग्रहको उत्कृष्ट लेखकहरुलाई पुरस्कार तथा प्रमाण पनि उनी स्वयंले उपलब्ध गराएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ। उक्त सम्बोधन पूर्व पदबहालीको गर्नेक्रममा जंगीअड्‍डामा आयोजित एक कार्यक्रमकाबीच भिन्न क्षमता भएका नेपाली सेनाका सवारीचालक अनुमति प्राप्त ७ जना सकलदर्जालाई चारपाङ्‍ग्रे स्कुटर तथा सवारीचालक अनुमति नभएका १९ जनालाई जनही १ लाख ४० हजार रुपैयाँका दरले आर्थिक राहत समेत वितरण गरेका थिए।