काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ। शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनमा परिणत गर्ने टुङ्गो लगाएको हो। तर, त्यसको निर्णय भने आज (आइतबार) बिहान बस्ने केन्द्रीय समितिको बैठकबाट गरिने भएको छ। सम्मेलनलाई आठौँ महाधिवेशनमा रूपान्तरण गरिने भएको छ।
महाधिवेशनको उद्घाटन आज हुँदैछ। चिनियाँ सर्वाेच्च नेता माओत्सेतुङको जन्मदिन (डिसेम्बर २६) पुस ११ को अवसर पारेर महाधिवेशनको उद्घाटन गरिँदैछ। महाधिवेशनले नयाँ विचारसहितको नयाँ क्रान्तिकारी पार्टी बनाउने घोषणा गरिएको छ। महाधिवेशनलाई विचार र नयाँ राजनीतिक कार्यदिशा निर्माणमा केन्द्रित गरिने भएको छ।
महाधिवेशन उद्घाटन आइतबार अपराह्न ३ बजे हुनेछ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुखलाई अतिथि निमन्त्रण गरिएको छ। महाधिवेशन नयाँ नेतृत्व, विचार र राजनीतिक कार्यदिशा तय गर्ने स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताउनुभयो। सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक दस्तावेजमाथि छलफल र बहस गरी नयाँ विचार र कार्यदिशा निर्माण गरिने उहाँको भनाइ छ।
जनयुद्धदेखि खुला राजनीतिसम्मका कमीकमजोरीका विषयमा आत्मसमीक्षासहित नयाँ कार्यदिशा निर्माण गरिने भएको छ। शनिबार साँझ बसेको स्थायी समितिको बैठकले प्रतिनिधिबारे छलफल गरेपनि टुङ्गो लगाएको छैन। आइतबार बिहान बस्ने केन्द्रीय समितिको बैठकले टुङ्गो लगाउने भएको छ।
यस महाधिवेशनमा देशभरबाट १ हजार ६३१ जना प्रतिनिधिको सहभागिता हुनेछ। जसमा १० प्रतिशत मनोनीत हुनेछन्। महाधिवेशनमा सहभागी प्रतिनिधिले आफ्नै खर्चमा खाने, बस्ने व्यवस्था गर्नुपर्नेछ। पार्टीको अन्तरिम विधानअनुसार बहुपदीय प्रणालीमा नेतृत्व चयन हुनेछ। जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष चयन हुनेछन्। पदाधिकारीको सङ्ख्या १५ जना हुने प्रस्ताव गरिए पनि उपाध्यक्ष, उपमहासचिव र सचिवको सङ्ख्या भने तोकिएको छैन।
कुल २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावित अन्तरिम विधानमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिमको ५ प्रतिशत कोटा व्यवस्था गरिएको छ। १३ प्रतिशत दलितलाई २ प्रतिशत थप गरेर विशेष अधिकार व्यवस्था गरिएको छ। २९९ केन्द्रीय समितिमा दलित समुदायबाट ४५ जना आउनेछन्। ६७ जना महिला र १५ जना मुस्लिम समुदायबाट आउनेछन्। केन्द्रीय समितिमा ४८ जना युवाको प्रतिनिधित्व हुँदैछ। पुस ११ गते कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा उद्घाटन हुने महाधिवेशन पुस १५ गते सम्पन्न हुनेछ।