काठमाडौं । आज बिहान ११ बजेदेखि बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने अपेक्षा गरिएको भएपनि उनको सिफारिस नगरी बैठक समापन गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा मनोनयन गर्नका लागि सिफारिस नगरेको एक मन्त्रीले बताएका छन् । आजको मन्त्रिपरिषद् बैठकमा यसबारे एजेन्डा नआएकोले फेरि बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रियसभामा सिफारिस गर्न सक्ने ती मन्त्रीले बताएका छन् ।
बामदेव गौतमलाई यसअघि फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । त्यो बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्ने जवाफ दिएको बताइन्छ । फेरि बिहीबार बसेको सचिवालय बैठकमा ओलीले नै गौतमलाई राष्ट्रियसभामा पठाउने प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्री ओलीले प्रस्ताव गरेपछि पार्टी सचिवालयका सबै सदस्यहरुले समर्थन गरेर गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णयमा सर्वसम्मत निर्णय भएकोबताइएको थियो ।
गत निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट गौतम पराजित भएका भएपनि उनलाई राष्ट्रियसभामा लग्ने निर्णय नेकपाले गरिसकेको छ । आजको बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले आफूले भोलि बेलुका ४ बजे राजिनामा दिएर सरकार बाहिर भएपनि सहयोग गर्ने वचन दिएका थिए ।