काठमाडौं । सरकारले नयाँ बजेट निर्माणको प्रक्रिया सुरु गरेको बेला नेपाली कांग्रेसले सोमबार राजधानीमा एक कार्यक्रम गरी उद्योगी व्यापारीहरूसँग अन्तरक्रिया गरेको छ । उनीहरूसँग सुझाव लिएर सरकारलाई निर्णय लिन झक्झक्याउने कांग्रेसले प्रतिबद्धता जनाएको छ ।
पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुलुकलाई अब डिजिटल अर्थतन्त्रतर्फ लैजानुपर्ने बताए । नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् । बजेट निर्माणको प्रक्रिया रहेको बेला पार्टीले उद्योगपति व्यापारीहरूसँग अन्तरक्रिया गरेर समस्या पहिचान गरी सरकारलाई सुझाव दिन लागिएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले बजेट कस्तो बनाउनुपर्ने हो, कानुनी सुधार कस्तो र नयाँ बाटो कस्तो हुनुपर्छ भनी सुझाव दिन सहभागी उद्यमी व्यापारीहरूसँग आग्रह गरे । उनले ‘कम्फर्टजोन’मा बसेर काम गर्ने बानी हटाउनुपर्छ र जोखिम मोलेर नयाँ बाटो के हो भन्नेचाहिँ खुलस्त पारेनन् ।
विभागका प्रमुख चिनकाजी श्रेष्ठको सभापतित्वमा दुई सत्रमा चलेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नीतिगत अस्थिरता अन्त्यको लागि कांग्रेसले अगुवाइ गरोस् भन्दै त्यसका लागि दशवर्षे एकीकृत निर्देशिका जारी गर्न माग गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले २० लाख रुपैयाँसम्मको नाफामा आयकर नलाग्ने व्यवस्था गर्न माग गरे । साथै उनले भ्याटका मल्टिपल रेट लागू गर्न र नीतिगत सुधार गर्न समेत माग गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका का.बा. अध्यक्ष विरेन्द्रराज पाण्डेले सम्बोधन गर्दै समस्याको स्थायी समाधान खोज्नेतर्फ लाग्ने बेला आएका बताए । औषधि उद्यमी हरिभक्त शर्माले अबको दशवर्षमा देश टाट उल्टने घोषणा गरे । उनले सधैँको घाटा बजेट, रेगुलेसन पुराना र ओभर रेगुलेसन समस्याको जड भएको बताउँदै कांग्रेसले उद्योग धन्दाको विकासको नीति प्रस्ट पारोस् भनी माग गरे । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले विदेशमा लगानीको बाटो खोल्ने बताए ।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले देश निर्माणको अभियानमा युवाशक्तिलाई अघि ल्याउने बाटो खोल्न र अविश्वासको खाडल मेटाउन आग्रह गरे । उनले ट्रम्पको नीतिबाट फाइदा लिने उपाय खोज्न, वित्तीय स्थिरताको बाटो खोज्न, वित्तीय पहँुच बढाउन, कर प्रणाली सरलता खोज्न स्वदेशी उत्पादनलाई पोत्साहन गर्ने नीति ल्याउन र सुशासनको प्रत्याभूति दिन माग गरे ।
त्यस्तै महासंघकी पूर्वअध्यक्ष भवानी राणाले कार्यक्रमलाई सम्बोधन गर्दै छरुवा बजेट रोकेर बजेटको आकार घटाउन माग गरिन् । उनले एफडीआई ग्याप भएको, उद्योगबाट एफडीआई नआएको, क्यासफ्लो नखुलेको युवा विदेशिन नरोकिएको, सहकारी समस्या समाधान नभएको लगायतका समस्या औँल्याएकी थिइन् । उनले जलविद्युत्मा पीपीपी मोडल अपनाउन, राष्ट्रिय ध्वजावाहक विमान खरिद गर्न, विदेशी एयरलाइन्स माथिको निर्भरता हटाउन, ल्याब टेस्टिङको व्यवस्था गर्न माग गरेकी थिइन् ।
अर्का वक्ता नेपाल वायुसेवा निगमका सञ्चालक किशोरकुमार प्रधानले कोशी किनारमा ४० हजार बिघा जमिन त्यसै अलपत्र रहेकोले त्यसलाई सदुपयोग गरेर कृषि उत्पादन गर्ने हो भने नेपालीलाई आवश्यक पर्ने कृषि उपज उत्पादन गर्न सकिने बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आयात प्रतिस्थापन गर्ने नीति ल्याउनुपर्ने, भन्सार नीति गर्नुपर्ने, इन्स्योरेन्सको अनावश्यक शुल्क हटाउनुपर्ने, भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बनाइनुपर्ने र निर्यातकर्ताले स्वचालितरूपमा इन्सेन्टिभ पाउने व्यवस्था गरिनुपर्ने माग गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले लुम्बिनी प्रदेशमा बनाइदिएको विमानस्थल चलाउने व्यवस्था पनि गरिदिनुपर्ने, लुम्बिनीमा सेज अपडेटेड नभएकाले अपडेटेड गरिदिनुपर्ने, भारतीय गाडी आउँदा भन्सारमा लाग्ने कर घटाउनुपर्ने, क्रसर व्यवसायीमाथि आएको सङ्कट समाधान गर्नुपर्ने र राजस्व अनुसन्धान विभागले राजस्व बढायो कि घटायो भनेर त्यसमाथि अनुसन्धान गर्नुपर्ने माग गरे ।
पोल्ट्री व्यवसाय महासंघका अध्यक्ष गुण चन्द्र विष्टले कोभिडपछि पोल्ट्री व्यवसायमा समस्या आएको भन्दै नेपालमा धेरै मूल्य बढ्नेबित्तिकै चोरी आयात हुनेगरेको आफूहरूलाई घाँटी निचोरेर दुःख दिने गरिएको बदमासी गर्नेलाई त्यसै छाडेर उम्काइने गरेको, बदमासी नगर्नेलाई दोषी बनाइने गरेको, त्यस्तै एउटा दोष महामन्त्री गगन थापाले पनि पाएको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले स्रोत सुनिश्चिता नभएको आयोजनाहरूको ठेक्का सम्झौता गर्दा आफूहरू बदनाम हुनुपरेको बताउँदै त्यस्ता आयोजनाहरू खारेज हुनुपर्ने बताए । उनले संसारभर सफल भएका निर्माण कम्पनी सरकारको बेइमानीका कारण नेपालमा आलोचनाको विषय बन्नुपरेको बताए ।
सभासद समेत रहेको विमल केडियाले सम्बोधन गर्दै कांग्रेसले यो कार्यक्रम गर्यो राम्रो गर्यो तर एमालेले के गर्छ भन्ने प्रश्न गर्दै सरकारमा दुवैको आधाआधी छ, एक्लैले केही हुन सक्दैन, दुवैको सामूहिक छलफल आवश्यक थियो, अनि मात्र निकास निस्कन्छ भने । उनले उपभोक्ता बढाउन जनसंख्या बढाउनुपर्ने बताए ।
निर्यात व्यवसायी पशुपतिदेव पाण्डेले मुलुकमा आफू जन्मिनुअघिको पोलिसी विद्यमान रहेको बताउँदै त्यस्ले देश नबन्ने भएकाले यथाशीघ्र त्यसमा सुधार गर्नुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अम्बिका पौडेलले कानुनका व्याख्या जटिल र अपुरो रहेको बताउँदै त्यसमा व्याख्यात्मक टिप्पणी आवश्यक रहेको बताए । उनले कार्यान्वयनमा जटिलता आएकोले कानुनको संशोधन गर्दा नै व्याख्यात्मक टिप्पणीसहित संशोधन गर्नुपर्ने माग गरे ।
महासंघका अर्का वक्ता राजेशकुमार अग्रवालले समस्या उद्योग स्थापना र सञ्चालनमा नै रहे पनि कम लागतमा उद्योग स्थापना र सञ्चालनका उपाय कहिल्यै नखोजिएको भन्दै उनले सधैँ करको समस्या देखाएर विषयान्तर गरिने गरिएको बताए ।
अर्का वक्ता नाटाका कुमारमणि थपलियाले होटलको संख्या बढे पनि अकुपेन्सी नबढेको गुनासो गरे । त्यसो हुनुमा नेपाल गन्तव्य महँगो भएको, हवाई टिकटमा समेत भ्याट लगाइएको भन्दै भैरहवा जाने अधिकांश पर्यटक लुम्बिनी नगई सस्तो भएकाले गोरखपुरबाट उड्ने गरेको बताए । उनले मानसरोवर यात्रा मात्र नेपाललाई गेट–वे बढाउन समेत माग गरे ।
अर्का वक्ता नास्ट आईटीका गौरव पाण्डेले सहकारी काम काजका विदेशी आईटी कम्पनीको सफ्टवेयर राखिएकाले नेपालको सबै डाटा विदेशिएको बताउँदै नेपाल आईटी बोर्ड गठन गरेर सरकारी क्षेत्रमा काममा नेपाली आईटी कम्पनीहरूलाई प्रतिस्पर्धाका आधारमा सफ्टवेयरको काम दिनुपर्ने माग गरे । वक्ता नास्ट आईटीका गौरव पाण्डेले सहकारी काम काजका विदेशी आईटी कम्पनीको सफ्टवेयर राखिएकाले नेपालको सबै डाटा विदेशिएको बताउँदै नेपाल आईटी बोर्ड गठन गरेर सरकारी क्षेत्रमा काममा नेपाली आईटी कम्पनीहरूलाई प्रतिस्पर्धाका आधारमा सफ्टवेयरको काम दिनुपर्ने माग गरे ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले हाम्रो पार्टीको सरकार छ भन्ने आभास भएन, राजस्व उठेन भनेर मनपरी कर लगाउन भएन, विद्युत आपूर्ति गर्नुपर्ने लगायतका विषय राखेका थिए ।
आफू अन्यत्र जानुपरेको भन्दै बीचैमा बोलेका कांग्रेसका उपसभापति धनराज गुरुङले कानुन मात्रै होइन, व्यवसायीहरू पनि सुध्रिनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले सबैभन्दा ठूलो समस्या भन्सारमा देखेको बताए । नेपालमा क्वारेन्टाइन नभएकाले खुला भन्सार रहेको र करोडौँ राजस्व छली हुनेगरेको बताए । उनले युवालाई परियोजना सुरु गर्न विनाधितो ५० लाख रुपैयाँ कर्जा दिने व्यवस्था गर्न माग गरे ।
नेपाल उद्योग वाणिज्य संघ काठामाडौंका सभापति दिनेश श्रेष्ठले जेठ १६ पछि हामीले लगानी गर्ने हो भनेर युवा जोड्ने अवस्था सिर्जना हुनुपर्छ भन्दै करको दर घटाएर दायरा बढाउनुपर्ने सुझाव दिए । त्यसो गरे मात्रै अनैतिक व्यापार निरुत्साहित हुने र चोरीपैठारी घट्ने बताउँदै उनले सरकारले सही काम गर्न ढिला गर्न नहुने बताए । नेपाल चेम्बर अफ कमर्सका कृष्णमान श्रेष्ठले सम्बोधन गर्दै पहिला छल अनि फल खोज्छौँ, कर्मचारीलाई पेन्सन निजी क्षेत्रलाई टेन्सन दिन्छौँ भन्दै कृषिमा पशुधनको गणना नगरिएको र कृषियोग्य जग्गा वर्गीकरणमा पक्षपात हुनेगरेको बताए ।
पोल्ट्री महासंघका दिनेशराज मिश्रले ज्युँदो कुखुरामा भ्याट नलाइने तर काटेको कुखुराको मासुमा भ्याट लाग्ने व्यवस्थाले समस्या पारेकोले पशुपन्छी ऐनमा व्याख्यात्मक टिप्पणी आवश्यक रहेको बताए ।
नेपाल चेम्बर्स अफ कमर्सका लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोख्रेलले पहिला हाम्रो नियत सफा हुनुपर्ने बताउँदै भैरहवामा एयरपोर्ट बनेकोमा खुसी भए पनि नचलेकोमा अत्यन्त दुःखी रहेको बताए । उनले कुरो सबैले बुझेको तर काम कसैले पनि नगरेको बताउँदै अब आफूहरू उनीहरूको नियतमाथि शंका गर्ने अवस्थामा पुगेको बताए । वारि र पारिको मूल्यमा अन्तर छ । हाम्रो नीतिमा समस्या छ । तर सबैले निजी क्षेत्रको लगानी भनेको त डुब्ने नै त हो नि भनेर हावामा उडाउने गरेको भन्दै पीडा पोखे ।
वीरगञ्जका हरि गौतमले राज्यले सात दिनका अन्य सूचना दिएर एमआरपीमा कारबाहीको नाममा राज्य आतङ्क मच्चाएको छ भन्दै देश बनाउने हो भने २० वर्षे आर्थिक नीति बनाउन, अवैध कारोबार रोक्ने नीति बनाउन र उधारो कानुनको व्यवस्था गर्न सुझाव दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योण वाणिज्य महासंघ पोखराका गोकर्ण कार्कीले पोखरा एयरपोर्ट निर्माणमा भएको भ्रष्टाचारको छानबिन गर्न माग गरे । अर्का वक्ता प्रकाशसिंह कार्कीले नेपाल एयरलाइन्सलाई निजीकरण गर्न माग गरे र लगानीको सेक्युरिटी नभएकाले वैदेशिक लगानी नआएको जिकिर गरे ।
अर्का वक्ता अनलराज भट्टराईले नेपाल ग्रे–लिस्टमा परेको छ र अब कालोसूचीमा पर्ने खतरा रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै इकोनोमिक रिजर्भ फर सेकेन्ड जेनेरेसन हुनुपर्ने बताए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले संविधान संशोधन आर्थिक उन्नतिसँग जोडिनुपर्ने बताए । सम्बोधनका क्रममा उनले संविधानमा समाजवाद उन्मुख भनिएको छ । कस्तो समाजवाद उन्मुख भनिएको हो भन्ने प्रश्न गर्दै चीनमा जस्तो हो कि रुसको जस्तो या क्युवामा जस्तो समाजवादतर्फ उन्मुख हो ? अथवा भेनेजुइलाका जस्तो हो कि उत्तर कोरियाको समाजवादजस्तो समाजवाद उन्मुख भनिएको हो ? भन्दै नीतिगत स्पष्टता हुनुपर्ने बताए । बीपीले भनेको समाजवाद र अहिले संविधानमा भनिएको समाजवाद उन्मुखमा के फरक छ ? त्यो स्पष्टता हुनुपर्दछ भन्दै त्यसको स्पष्टता नभईकन निजी क्षेत्रमा लगानी हुँदैन भनेर चुनौती दिए । उनले पहिला थुन्ने अनि सुन्ने सरकारी नीतिले निजी क्षेत्र त्रसित रहेको बताउँदै अनौपचारिक भन्सार रोकिनुपर्ने, अग्रीम भन्सार आयकर लिने व्यवस्था खारेज गर्नुपर्नेलगायतका माग गरे ।
महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीले अनुत्पादक क्षेत्रको बजेट रोकिनुपर्ने, स्वदेशी इकोनोमिक डिप्लोमेसी स्पष्ट हुनुपर्ने बताए ।
कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले सरकारमा प्रधानमन्त्री एमाले, उद्योगमन्त्री एमाले, अर्थमन्त्री एमाले छन् । कांग्रेसले उद्योगपति व्यापारीसँग गरेको यो छलफलको निर्णय कार्यान्वयन कसरी होला भन्ने प्रश्न गर्दै त्यो कार्यान्वयन नहुँदा कांग्रेसको इमेज नै बिग्रने बताए । यहाँ दिइएका सुझाव रद्दीको टोकारीमा नफालियोस्, त्यो महामन्त्रीको जिम्मा भो भनी जिम्मा लगाए ।
अर्को वक्ता नाटाका विष्णु शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन बनाएको र किन नचलेको स्पष्ट पारिदिनुस् भनी माग गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै समस्या छु–मन्तर गरेर समाधान नहुने बताउँदै संयुक्त सरकार भए पनि समस्या समाधानको बाटो पहिल्याउन र सक्ने जति समाधान गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले अब वैदेशिक सहायतामा निर्भर हुने दिन गएको भन्दै लगानी नै एकमात्र विकल्प रहेको र त्यसका लागि कांग्रेस हातेमालो गर्न तयार रहेको बताए । अब उत्पादनका आधारमा सहुलियतको व्यवस्था हुनपर्छ भन्दै नेपाल एयरलाइन्सलाई निजीकरण नगरी चलाउन नसकिने बताए । उनले पुँजीगत खर्च नभएको होइन, राज्यसँग खर्च गर्ने रकम नै नभएको रहस्य पनि खोले । उनले हामीले कतिन्जेल झुट बोल्ने ? जनतालाई सत्य कुरा बताउनुपर्छ, सस्तो लोकप्रियताका लागि यसरी झुट बोल्नु हुँदैन भने ।
कांग्रेस महामन्त्री गगन थापाले दोस्रो सत्रका अन्त्यमा समारोहलाई सम्बोधन गर्दै कानुन बन्ने कार्यविधि नबन्न एवं संशोधन नहुने समस्या छ भन्दै यही वर्ष कानुनी सुधार जोखिम मोलेर नीतिगत सुधार गरेको बताउँदै बीचको समय सुस्ताएको र पछिल्लो समय डराएर कामै नगरेको बताए । उनले अहिले पनि सरकार र निजी क्षेत्रबीच विश्वासको सङ्कट रहेको बताउँदै योभन्दा बाहिरको वर्ग र जनताले हामी दुवैलाई विश्वास गर्न छाडेको बताए । यसबीचमा हामीसँग इच्छाशक्ति नभएकाले यस्तो अवस्था आएको बताउँदै उनले अब त्यस्तो नचल्ने बताए । त्यसपछि विभागका सभापति चिनकाजी श्रेष्ठले समस्या पहिचान गरेरृृ समाधानको उपाय निकाल्न अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै उद्योगपति व्यापारीहरूलाई निराश नहुन आग्रह गरेका थिए ।