ऊ बेला नेपालगन्जबाट हवाईजहाजमा जुम्ला र बाजुराको विमानस्थल हुँदै त्यहाँँबाट पनि दुई दिन लगाएर रारा पुग्नुपर्ने बाध्यता थियो । अहिले गाडीमै आरामसँग पुगिन्छ ।
✍️ जीवन सेजुवाल,
सडक यातायात र हवाई यातायात दुवैको सहजताले रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेपछि राराको पर्यटन प्रबर्द्धनमा टेवा पुगेको छ । देशकै ठूलो तालका रूपमा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको यो ताललाई राराकी अप्सरा र महेन्द्र तालको उपमाले समेत चिनिने भए पनि यातायात सहजता नभएका बेला पर्यटकहरूको पर्खाइमा थियो ।
१२–१५ वर्ष अगाडिबाट हवाई र सडक यातायातले मुगु जिल्ला जोडिएपछि अहिले यो तालको पर्यटन प्रवद्र्धनमा केही प्रचार–प्रसार हुन भई स्वदेशी तथा विदेशी पर्यटकहरू रारा पुग्न थालेपछि राराको पर्यटन क्षेत्र बामी सर्न थालेको पर्यटन व्यवसायीले बताउँदै आएका छन् ।
यातायात नहुँदा र राराको प्रचारप्रसार नभएकाले आजभन्दा १५ वर्षअगाडि रारा पुग्नका लागि नेपालगन्जबाट हवाईजहाजमा जुम्ला र बाजुराको विमानस्थल भई त्यहाँँबाट दुई दिन लगाएर रारा पुग्नुपर्ने बाध्यता थियो । २०५९ बाट मुगुको रारा विमानस्थल र २०६९ मा नाग्म–गमगढी सडकबाट यातायात सुचारुले गर्दा रारा पुग्न केही सहजता भएकै कारणले रारामा अहिले बर्सेनि हजारौं आन्तरिक पर्यटक र सयौको संख्यामा विभिन्न देशबाट विदेशी पर्यटकहरू पुग्ने गरेका छन् ।
यो आर्थिक वर्षको साउनदेखि मात्र हालसम्म स्वदेशी तथा विदेशी पर्यटकहरू १० हजार जना रारा पुगेको रारा राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ । सँगै रारा पुग्नका लागि सडक तथा हवाई यातायातले केही सहजता भएपछि पाँच वर्षयताको तथ्यांक हेर्ने हो भने एक लाखभन्दा बढी पर्यटकहरू पुगिसकेका छन् । राराको पर्यटन प्रबद्र्धनमा ध्यान पुर्याउने हो भने मात्रै वार्षिक एक लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकहरू रारा पुग्ने आकलन पर्यटन व्यवसायी गोपाल बमले बताए । बमका अनुसार सबैभन्दा पहिला कम खर्चमा रारा पुग्नका लागि सडक यातायात भएकाले सुर्खेतदेखि नाग्मा सम्मको सडक स्तरोन्नति साथै नाग्मा–गमगढी सडकखण्डको पिच गर्नुका साथै नेपालगन्जबाट रारा विमानस्थलबाट उडान हुने जहाजहरूको नियमित उडान गरिए मात्र रारामा आउने पर्यटकको संख्या वृद्धि हुन्छ ।
यातायात सहज भएपछि रारामा सुविधा सम्पन्न होटलहरू नभए पनि ताल किनार छेउमा केही होटल स्थापना भए । रारा क्षेत्रको सल्लेरीमा पनि केही सुविधा सम्पन्न होटलसहित साना मझौला एक दर्जन जति र माझ घट्ट मुर्मा टपमा त्यस्तै खालका एक दर्जन जति होटलहरू सञ्चालनमा रहेका छन् । यी होटलहरूमा रारा आउने विदेशी तथा स्वदेशी पर्यटकहरू बास बसेकै कारणले स्थानीयले रोजगारी पाउनुका साथै व्यापार व्यवसायमा सर्वसाधारण आकर्षित भएको होटल व्यवसायी कलबहादुर रावल बताउँछन् ।
विदेश छोडेर घोडा सफारीमा आकर्षितरारा आउने पर्यटकहरूको संख्या दिनहुँ वृद्धि हुन थालेको भए पनि स्थानीय युवाहरूले कुनै लाभ नपाएको भन्दै धेरै विदेश जान तयार थिए । यहाँ पुग्ने पर्यटकहरूको रोजाइ घोडा सफारी हुन थालेपछि पासपोर्ट बनाएर विदेश जान तयारी युवाहरू रोकिए । त्यहीँ व्यवसाय गर्न थाले ।
जिल्लामा सडक यातायात पुगेसँगै हराउँदै गएको घोडापालन र यो व्यवसाय रारा आउने पर्यटकहरूकै कारणले पुनः घोडापालनतर्फ आकर्षित हुन थालेका छन् ।
कुनै बेला एउटा घोडाको मूल्य ५० देखि ८० हजारसम्म बिक्री हुने गरेको घोडापालक कृषक कृष्णप्रसाद भाम बताउँछन् । जिल्लामा सडक यातायात सहजता भएपछि घोडापालन व्यवसाय गर्दै आएका कृषकहरूका घोडा २० हजारमा पनि बिक्री हुन नसक्दा यो व्यवसाय नै छोड्नुपर्ने बाध्यता भएको भामले बताए । अहिले रारा आउने पर्यटकको संख्या वृद्धि हुँदा पुनः घोडा व्यवसाय गर्ने कृषक खुसी भएका छन् । अहिले उनीहरूले एउटा घोडा १ लाखदेखि १ लाख ५० हजार मूल्यमा बिक्री गर्ने गरेको उनले बताए ।
पछिल्लो समय रारामा सबैभन्दा फस्टाएको घोडा सफारी व्यवसाय हो । यो व्यवसायमा मुर्मा, झयारी, टोप्ला र सिगाडी गाउँका युवायुवती संलग्न छन् । घोडा सफारीबाटै राम्रो आम्दानी हुने देखेपछि रोजगारीकै लागि राहदानी बनाएर बिदेसिन तयार भएका युवाहरू राहदानी थन्काएर यो व्यवसायमा लागेको मुर्मा गाउँका जीवन रोकाया बताउँछन् ।
सिजनमा यो व्यवसायबाट मासिक आम्दानी ५० देखि एक लाखसम्म पुग्छ । आफ्नो काम भनेकै रारा पुगेका आन्तरिक पर्यटकलाई माथिल्लो मिलीदेखि हुटुमा रहेको डाँफे, हिरिटेज रिसोर्ट र माझ घट्टमा रहेका होटलसम्म घोडा सफारी गराउनु हो । पर्यटकले चाहे घोडा खोजेमा होटलबाट मुर्मा टप र पुनः माथिल्लो मिली हुँदै सल्लेरीसम्म पुर्याउनुपर्छ । यहीबाट सिजनमा मासिक ५० हजारभन्दा बढी कमाइ हुन्छ । गाउँघरम रोजगारी नहुँदा बिदेसिने सोच बनाएर पासपोर्ट बनाएका थिए । रारा आउने पर्यटकहरूको रोजाइमा घोडा सफारी पर्न थालेपछि आफूले यो व्यवसायमा संलग्न भएको र आफूजस्ता १ सय ५० भन्दा बढी युवाहरूले घोडा सफारी व्यवसाय अँगालेको छायाँनाथ रारा नगरपालिका–८ नन्द रावलले बताए ।
एनआरएनहरूको लगानीमा चारतारे रिसोर्टको निर्माण हुँदै
रारा आउने पर्यटकहरूका लागि सुविधा सम्पन्न होटलहरू नहुँदा पर्यटकले सास्ती भोग्नुपर्ने बाध्यताबीच राराको मुर्मा टपमा विदेशमा रहेको नेपालीहरूको लगानीमा चारतारे रिसोर्ट निर्माण कार्य सुरु भएको छ । कर्णाली प्रदेशमा तीनतारेसम्मका होटलहरू सञ्चालनमा भएका भए पनि रारा पुग्ने पर्यटकका लागि एनआरएन अस्टे«लियाको लगानीमा कर्णालीकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण सुरु गरिएको छ ।
गत वर्ष काठमाडौंमा नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा अस्ट्रेलियामा रहेका नेपाली एनआरएन अभिषेकविक्रम शाहलगायतको टोलीले ड्रिम प्रोजेक्टका रूपमा रारामा चारतारे रिसोर्ट निर्माण गर्ने प्रतिबद्धतासहित नेपाल सरकारसँग रारा होल्डिङ्स रिसोर्टले १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेअनुसार काम अगाडि बढाउन थालिएको छ ।
कुल ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने यो रिसोर्टको पहिलो फेजमा कुल लागत एक अर्बमा निर्माण हुनेछ । पहिलो फेजमा ३६ र दोस्रो फेजमा १९ वटा सुविधा सम्पन्न कोठामा ९८ शय्या हुनेछन् । दैनिक एक सय जना आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने यो रिसोर्टको लक्ष्य रहेको छ ।रारा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले रारा क्षेत्रमा सुविधासम्पन्न होटल नभएका कारण पर्यटकको दुःखेसो पोख्दै आएका बेला सिन्जा भ्याली, रारा, छायाँनाथ र खप्तडलाई जोड्दै कर्णालीका धार्मिक क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यो रिसोर्ट निर्माण गरिन लागेको रारा होल्डिङ्स रिसोर्टका परियोजन प्रबन्धक अरुण चन्दले जानकारी दिए ।
समुद्री सतहबाट ३५ सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्ट सञ्चालनमा आएपछि प्रत्यक्ष १ सय २० जनाले रोजगारी पाउनेछन् भने एक हजारभन्दा बढीलाई अप्रत्यक्ष रूपमा रोजगारीको सिर्जना गर्ने यो परियोजनाले विशेष गरी भारतीय नागरिकलाई धार्मिक पर्यटकका रूपमा भित्र्याउने लक्ष्य रहेको उक्त रिसोर्टका प्रतिनिधि ऐटन मल्लले बताए ।
यो रिसोर्टको निर्माण सुरु गरिने भए पनि रारामा अन्य नेपालका ठूला होटलहरू लगानीका लागि जग्गा खरिद गरि कानुनी प्रक्रिया अगाडि बढाउन थालेका छन् । धेरै ठूला होटल कम्पनीहरूले मुर्माटप, सल्लेरीलगायत अन्य स्थानमा स्थानीयको जग्गा खरिद गरेर रारा होटलका सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाउन थालेका छन् । – अन्नपुर्णपोष्ट ।