३६ हजार लिटर पेट्रोलमा साढे ९ हजार लिटर मट्टीतेल र केमिकल मिसावट
चालकको आम्दानी घटेपछि मिसावट गरेर कमाउने धन्दा
काठमाडौं । नेपाल आयल निगमले आयात र वितरण गर्दै आएको इन्धनमा मिसावटको घटना बारम्बार दोहोरिरहेको छ । पछिल्लो समय पेट्रोलमा ठूलो परिमाणमा मट्टीतेल र हानिकारक केमिकल (पेन्ट्समा प्रयोग हुने मिनरल टर्पेन्टाइन आयल) मिसावट गरिएको भेटिएको हो । निगमका दुई ठूला डिपो दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगन्ज र बागमती प्रादेशिक कार्यालय थानकोटमा इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट चारवटा ट्यांकरमा ल्याइएको ३६ हजार लिटर पेट्रोलमा साढे ९ हजार लिटर मट्टीतेल र हानिकारक केमिकल मिसावट भएको पुष्टि भएको हो ।
गत शुक्रबार निगमका दुई नम्बर प्रादेशिक कार्यालय अमलेखगन्जमा बरौनीबाट पेट्रोल बोकेर ना ७ ख ४०९३ नम्बरको ट्यांकर आएको थियो । सो ट्यांकरको गुणस्तर परीक्षण गर्नेक्रममा तापक्रमको अन्तिम अवस्था २ सय ३० डिग्री प्रतिसेन्टिग्रेड पाइएको थियो । अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीका अनुसार तापक्रमको अन्तिम अवस्था बढीमा २ सय सेन्टिग्रेड प्रतिमिटर हुनुपर्नेमा त्यसभन्दा बढी देखिएको हो ।
‘आइओसीबाट आएको पेट्रोलको तापक्रम औसतमा १ सय ९५ डिग्री प्रतिसेन्टिग्रेड हुने गरेको छ । हामीले २ सय डिग्री प्रतिसेन्टिग्रेडभन्दा बढी तापक्रम रहेको तेल पाइए बजार पठाउँदैनौँ,’ उनले भने, ‘शुक्रबार आएको एउटा ट्यांकरमा तोकिएभन्दा बढी तापक्रम रहेको पाएपछि चालकलाई समातेका छौँ र ट्यांकरको पेट्रोल डिपोमा नखन्याई राखेका छाैँ ।’
६ महिनाअघि डिजेलमा मट्टीतेल मिसावट भएको पाएपछि थानकोट डिपोमा खडा गरेर राखिएका ४ वटा ट्यांकर ।
सो ट्यांकरको ४ हजार लिटर क्षमताको एउटा च्याम्बरमा तोकिएभन्दा बढी तापक्रमको पेट्रोल भेटिएको थियो । ‘पेट्रोलमा तापक्रम बढी हुनु भनेको मट्टीतेल मिसावट हुनु हो,’ रेग्मीले भने, ‘यो ट्यांकरमा ४ हजार लिटरको चेम्बरमा १ हजार लिटर मट्टीतेल मिसाएको हाम्रो आकलन छ ।’ सो ट्यांकरका चालक सन्तोष खड्कालाई निगमले प्रहरीको जिम्मा लगाएको छ भने ट्यांकर साहु वैकुण्ठ बलामीलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
त्यस्तै, सोही डिपोमा गत आइतबार ना ७ ख ३९२३ नम्बरको ट्यांकर पेट्रोल बोकेर आएको थियो । सो ट्यांकरका ४-४ हजार लिटर क्षमताका तीनवटा च्याम्बरको पेट्रोल परीक्षण गर्दा तापक्रम १ सय ८६ डिग्री प्रतिसेन्टिग्रेड पाइएको थियो । ‘यो तोकिएभन्दा कम तापक्रम हो । यसलाई भने ठिकै मान्ने गरिएको छ,’ उनले भने, ‘तर, घनत्व नाप गर्दा धेरै फरक पाइयो ।’
उनका अनुसार पेट्रोलको घनत्व बढीमा ७ सय ४० किलोग्राम प्रतिमिटर हुनुपर्नेमा ८ सय किलोग्राम प्रतिमिटर भेटिएको थियो । स्रोतका अनुसार तापक्रम कम हुने र घनत्व बढी हुने विशेषता मट्टीतेलमा हुँदैन । ‘पेन्ट्समा प्रयोग हुने गुणस्तहीन र सस्तो मूल्यको मिनरल टर्पेन्टाइन आयल भन्ने हुन्छ । जुन बाक्लो हुन्छ र पेट्रोलमा सजिलै घुलमिल हुन्छ । यही वस्तु मिसावट गरेको प्रारम्भिक निष्कर्ष छ,’ स्रोतले भन्यो । घनत्व बढ्ने गरी तीनवटा चेम्बरमा कुल १२ हजार लिटर पेट्रोलमा ३ हजारदेखि ४५ सय लिटरसम्म मिनरल टर्पेन्टाइन आयल मिसावट गरिएको अनुमान छ ।
तीन दिनमा दुईवटा ट्यांकरमा मिसावटको घटना देखिएपछि अमलेखगन्ज डिपो प्रमुख रेग्मीले जिल्ला प्रहरी कार्यालयसँग समन्वयमा ना ७ ख ३९२३ नम्बरका ट्यांकरचालक राजेश विकलाई पक्राउ गरिएको छ ।
लगातार तेलमा मिसावट भएको पाएपछि अमलेखगन्ज डिपोले बरौनीबाट आएको तेलको गुणस्तर परीक्षणमा कडाइ गरेको थियो । त्यसक्रममा गत मंगलबार पेट्रोल लिएर आएको ना ७ ख १६५७ नम्बरको ट्यांकरको परीक्षण गर्दा घनत्व ७ सय ६० किलो प्रतिमिटर पाइएको थियो । ‘४-४ हजार लिटरका तीनवटा चेम्बरमा गरी कुल १२ हजार लिटर पेट्रोलमा ७ सय ६० का दरले घनत्व पाउँदा १५ सयदेखि २ हजार लिटरसम्म मिनरल टर्पेन्टाइन आयल मिसावट भएको अनुमान छ,’ स्रोतको भनाइ छ ।
सो ट्यांकरका चालक सञ्जीवकुमार लामा फरार छन् । ट्यांकरका साहु सुरेन्द्र श्रीवास्तव पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय पदाधिकारी तथा बारा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष हुन् ।
अमलेखगन्ज डिपोमा आएको पेट्रोलमा मिसावट पाएपछि अन्य डिपोमा पनि परीक्षणमा कडाइ गर्न थालिएको छ । यसैक्रममा बागमती प्रादेशिक कार्यालय, थानकोटमा बिहीबार आइओसीको बरौनी रिफाइनरीबाटै पेट्रोल बोकेर आएको ना४ख ७२५६ नम्बरको ट्यांकरका दुईवटा चेम्बरमा रहेको ८ हजार लिटर पेट्रोल परीक्षण गर्दा करिब २ हजार लिटर मट्टीतेल मिसावट भएको भेटिएको छ ।
थानकोट डिपो प्रमुख प्रदीप यादवका अनुसार घनत्व ७ सय ४० किलो प्रतिमिटर हुनुपर्नेमा ७ सय ६० किलो प्रतिमिटर र अन्तिम तापक्रम अवस्था १९५ डिग्री प्रतिसेन्टिग्रेड हुनुपर्नेमा २९५ डिग्री प्रतिसेन्टिग्रेड थियो । ‘यो भनेको मट्टीतेल मिसावट हो,’ यादवले भने, ‘मैले चालकलाई तुरुन्त कारबाही गर्न सबै विवरण राखेर जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र पठाइसकेको छु ।’
चालकलाई प्रहरीले, ट्यांकर साहुलाई निगमले कारबाही गर्दै :
आयल निगमले पेट्रोलियम पदार्थ ढुवानीका लागि जारी गरेको विनियमावलीले चालकहरूलाई कुनै सुविधा वा कारबाहीको व्यवस्था गरेको छैन । ट्यांकर करार सम्झौतामा लिएर इन्धन ढुवानी भइरहेकाले ट्यांकरधनीलाई मात्रै नियमन गर्ने व्यवस्था छ । त्यसैले तेल चोरीको घटनामा चालकको दोष भेट्टाउनासाथ निगमले प्रहरीको जिम्मा लगाउने गरेको छ ।
अमलेखगन्ज डिपो प्रमुख भरत रेग्मीले पेट्रोलमा मिसावट गरी चालकहरूले राष्ट्रिय सम्पत्तिमा हानि–नोक्सानी पु¥याएकाले कारबाही गर्न प्रहरीलाई पत्राचार गरिएको बताए । ‘ट्यांकरधनीको मिलेमतोविना चालक एक्लैले तेल चोरी गर्न र मिसवाट गर्न सक्दैनन्,’ स्रोत भन्छ ।
इन्धन अपचलनमा ट्यांकरधनीको संलग्नता हुने भएकाले नै निगमले विनियमावलीमा कारबाहीको व्यवस्था गरेको छ । यसपटक चालक र ट्यांकरधनीले मिलेर मिसावट गरेको भएकाले चारवटै ट्यांकरलाई ६ महिनासम्म इन्धन ओसार्न प्रतिबन्ध लगाउने निगमको तयारी रहेको छ ।
लकिङ पूर्णरूपले असफल :
अढाई वर्षअघि आयल निगमले भारतबाट तेल लिएर आउने ट्यांकरमा आधुनिक लकिङ जडान गरेको थियो । सो लकिङ जडान भएपछि बीचबाटोमा हुने चोरी र मिसावट रोकिने निगमको दाबी थियो । तर, पछिल्लो एक हप्तामा भएको यो मिसावट प्रकरणले लकिङ प्रणाली असफल भएको पुष्टि हुन्छ ।
‘ट्यांकरको ताला र साँचो केही तोडिएको छैन, दुरुस्तै छ,’ स्रोत भन्छ, ‘तर, भित्र भएको इन्धनमा ठूलो परिमाणको मट्टीतेल र हानिकार केमिकल मिसावट भएको देखिन्छ ।’ आइओसीको आर्थिक सहयोगमा जडान गरिएको लकिङको फेब्रिकेटर भारतीय हुन् । ट्यांकरचालकले तिनै फेब्रिकेटरसम्म पहुँच पु-याएर लकिङ खोल्ने, तेल झिक्ने वा मिसावट गर्ने र पुनः लकिङ लगाएर नेपाल ल्याउने गरेको स्रोतको भनाइ छ ।
भारतमा कोटाको मट्टीतेल धेरै सस्तो पर्छ । यस्तो मट्टीतेल पेट्रोलपम्पहरूले बचाएर राखेका हुन्छन् । त्यस्तै, कोटाको मट्टीतेल बिक्री गर्ने डिलरहरू पनि धेरै छन् । उनीहरूसँग ट्यांकरचालकले पहुँच विस्तार गरेर सस्तो मट्टीतेल खरिद गर्ने गरेका छन् । त्यसपछि गुणस्तर पेट्रोल, डिजेल झिकेर भारतीय पम्प वा अन्य व्यवसायीलाई बजार मूल्यभन्दा सस्तोमा दिने र जति परिमाण झिकेको हो, त्यति नै परिमाण मट्टीतेल मिसाएर ल्याउने गरेका छन् ।
चालकको आम्दानी घटेपछि मिसावट गरेर कमाउने धन्दा :
आयल निगमले करार सम्झौतामा प्रयोग गरिरहेका ट्यांकरहरूले औसतमा एक महिनामा चारपटक इन्धन ओसार्ने पालो पाउँछन् । एकपटक इन्धन ओसार्दा चालकलाई ट्यांकरधनीले करिब ५ हजार रुपैयाँ भत्ता दिन्छन् । चालकहरूले प्रतिमहिना औसतमा १५-२० हजार रुपैयाँ मात्र तलब बुझ्ने गरेका छन् । यसरी उनीहरूले सामान्य अवस्थामा सबै खर्च कटाएर भत्ता र तलब गरेर ३५-४० हजार रुपैयाँ कमाइ गर्दै आएका थिए । तर, कोरोना भाइरसका कारण इन्धनको माग २५–३० प्रतिशतमा झरेपछि एउटा ट्यांकरले महिनामा १ पटक मात्र इन्धन ओसार्ने पालो पाइरहेको छ ।
इन्धन ओसार्ने पालो नै घटेको हुँदा चालकहरूको कमाइ करिब आधा घटेको छ । उनीहरूले घटेको कमाइ पूर्ति गर्न सस्तो मूल्यमा मट्टीतेल र कम मूल्यमा पाइने न्यून गुणस्तरको केमिकल मिसावट गर्न थालेको स्रोतको भनाइ छ । ‘ट्यांकरको पेट्रोल झिकेर भारतका विभिन्न पम्पमा बिक्री गर्ने र त्यसबराबरको परिमाण मट्टीतेल र न्यून गुणस्तरको घुलनशील केमिकल हाल्ने गरेको प्रारम्भिक निष्कर्ष छ,’ स्रोतले भन्यो ।
अहिलेसम्म एउटा इन्धनमा अर्को प्रकारको इन्धन मिसावटको मात्र घटना देखिएको थियो । तर, यसपटक केमिकल नै मिसावट गरेर चालकहरूले इन्धन गुणस्तरमा व्यापक लापरबाही गरेको पुष्टि भएको छ । उनीहरूलाई भविष्यमा इन्धन ओसार्न वञ्चित हुने गरी कारबाही गर्ने निगमको तयारी छ । यसअघि गत १५ भदौमा धनुषाको महेन्द्रनगर कार्यालयबाट चार ट्यांकरचालकले इन्धन चोरी गर्न खोजेको पुष्टि भएपछि निगमले ५ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । – नयाँपत्रिका ।