वासुदेव न्यौपाने, काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पा “हिमचितुवा”को राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ ।
अक्सिजन विना १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि विश्व रेकर्ड कायम गरेका शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो ।
शेर्पाको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने पुर्व पर्यटन मन्त्री बलबहादुर केसीले पनि माल्यार्पण गरेका थिए । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरेका थिए ।
शेर्पाको शव यात्रासहित टेकु दोभानसम्म पु-याइएको थियो । शवयात्रामा लामा धर्मगुरुहरु, हिमाल आरोहीहरु, आफन्तजन लगायत सोलुखुम्बु जिल्लाबासीहरुको उल्लेख्य सहभागीता थियो ।