काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार भन्दा बढी सक्रीय कोरोना संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको छ । इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले कुनै दिन २५ हजार भन्दा बढी सक्रिय संक्रमित भए लकडाउन गर्न सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।
संक्रमणदर बढिरहेकोले जनस्वास्थ्यका मापदण्ड पुरा हुन नसक्ने सेवा र व्यवसाय कम्तिमा १ महिना बन्द गर्नुपर्ने मन्त्रालयको ठहर छ । अहिले सक्रीय संक्रमित १७ हजार ४ सय १४ जना छन् । यस्तै अन्तर्राष्ट्रिय नाकामा हेल्थडेक्स स्थापना गर्ने र त्यसका लागि दरबन्दी तयार गर्नेसमेत निर्णय भएको बताइएको छ ।
पिसिआर परीक्षणको धेरै शुल्क लिने ल्याव र अस्पतालको कडाइका साथ अनुगमन गर्ने पनि मन्त्रालयले जनाएको छ। यस्तै कोरोना नियन्त्रणका जुन जुन निकायबाट कति खर्च भएको छ ती निकायले तत्कालै खर्च सार्वजनिक गर्न पनि मन्त्रालयले भनेको छ।