काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल”प्रचण्ड”लाई साउन ३० गते गठित ६ सदस्यीय कार्यदलले आफ्नाे प्रतिवेदन सर्वसम्मतिले तयार गरि गत भदाै ६ गते साँझ ४:४५ बजे प्रतिवेदन बुझाएपछि अब सचिवालय बैठकले उक्त प्रतिवेदनका निर्णयलाई कार्यान्वयन गर्न एजेन्डा तयार गर्ने र त्याे एजेन्डालाई स्थगित स्थायी समितिकाे बैठकमा छलफल गरि पारित गरेर छिट्टै कार्यान्वयनमा ल्याइने भएकाे छ ।
कार्यदलका संयाेजक विष्णुप्रसाद पाैडेल र सदस्यहरू शंकर पाेखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसालले तयार पारेकाे प्रतिवेदनमा पार्टी भित्र देखिएका सबै विवादलाई समाधान गर्ने सुत्र सहितकाे निकास सहमतिमा तयार पारिएकाे र यसलाई अध्यक्षद्वयले स्वीकार गरेकाे बताइएकाे छ । प्रतिवेदनमा तीन दर्जन सुझाव दिइएकाे छ । जसमा पार्टी एकताकाे महत्त्वलाई आत्मसात गर्ने, पद्वति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, कार्यविभाजन स्पष्ट गर्ने, राजनीतिक तथा संगठनात्मक रूपमा गर्नुपर्ने काम सम्पन्न गर्ने, सरकार पुनर्गठन गर्ने, सरकारलाई प्रभावकारी बनाउने, संसदीय दलकाे भुमिका प्रभावकारी बनाउने, प्रदेश सरकारको पुनर्गठन गर्ने, स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने, प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारलाई निरन्तरता दिने,
अध्यक्ष प्रचण्डलाई अझ शक्तिशाली अध्यक्ष बनाउने, सरकारी राष्ट्रिय नियुक्तका निर्णयहरू पार्टी सचिवालयकाे सहमतिले गर्ने, महाधिवेशन आयाेजक समिति गठन गर्ने, पार्टी एकताकाे बाँकी काम सम्पन्न गर्ने, पार्टीका विभाग र भुगाेलकाे जिम्मेवारी ताेक्ने, पार्टीमा ज.ब.ज.काे निरन्तरता दिने, नेपालकाे सीमा समस्या समाधान गर्ने, काेभिड १९ काे महामारी राेकथाम, नियन्त्रण र आर्थिक पुनरूत्थान गर्ने, बाढी, पहिराे, डुवान, कटानबाट सिर्जित समस्या समाधानकाे अबलम्वन गर्ने, शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने, एमसिसि सम्झाैताका कमिकमजाेरी सच्याएर राष्ट्रिय हितमा प्रयाेग गर्ने जस्ता विषयहरु रहेका छन् । नेकपामा याे सहमति भए सँगसँगै छिट्टै संघीय सरकारको पुनर्गठन गर्ने अान्तरिक सहमति भएको छ । दुई वर्ष सरकारमा बसिसकेका र राम्राे प्रर्फमेन्स देखाउन नसकेका एक दर्जन मन्त्री हटाएर नयाँ अनुहार ल्याउने तयारी हुन थालेकाे छ । हटाइनेमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पाेखरेल, मन्त्रीहरूमा गिरिराजमणि पाेखरेल, शक्ति बहादुर बस्नेत, विना मगर, डा.यूवराज खतिवडा, प्रदिप ज्ञवाली, जगतबहादुर विश्वकर्मा, पद्मा अर्याल रहने पक्का जस्तै छ। नयाँ थपिने उपप्रधानमन्त्रीमा नारायणकाजी श्रेष्ठ वा वामदेव गाैतम मध्ये एकजना हुनेछन् । वामदेव गौतमलाई राष्ट्रिय सभामा मनाेनित गरिने भएकाे छ । वामदेव गौतम उपप्रधानमन्त्री हुन नमिल्ने भएमा उनकाे काेटाबाट तुलसा थापालाई मन्त्री बनाइदैछ । त्यसैगरि मन्त्री हुने लाइनमा जनार्दन शर्मा, पम्फा भुषाल, भिम बहादुर रावल, सुरेन्द्र पाण्डे, विष्णु पाैडेल, विद्या भट्टराई, अमनलाल माेदी, विराेध खतिवडा, प्रभु साह, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी आदि छन् । अर्थ मन्त्री बन्न विष्णु पाैडेल, सुरेन्द्र पाण्डे र वामदेव गाैतमकाे पनि दावी रहदै आएकाे छ । वर्तमान गृहमन्त्री रामबहादुर थापालाई गृहबाट हटाएर गृहमन्त्री हत्याउन जनार्दन शर्मा र भिम बहादुर रावलकाे टक्कर परिरहेकाे बताइएको छ । रावलले मन्त्री बन्ने लाेभ छैन भनेपनि गृह वा परराष्ट्र मध्ये एक मन्त्रालय मागेका छन् । पर्यटन मन्त्री याेगेश भट्टराईलाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयमा सारेर सरकारकाे प्रवक्ता बनाउने सम्भावना रहेकाे छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, कानुन मन्त्री शिवमाया तुम्वाहाम्फे, महिला बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरूङ, कृषि मन्त्री घनश्याम भुषाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयेश त्रिपाठी र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भने मन्त्रीबाट तत्काल नहटाइने भएपनि मन्त्रालय भने हेरफेर हुन सक्ने देखिन्छ ।