× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

बेरुजु कम हुने नगरमा सोलुदुधकुण्ड देशकै दोस्रो : महालेखा

Simrik Online

२ जेष्ठ २०८२, शुक्रबार

काठमाडौं । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका देशकै दोस्रो कम बेरुजु हुने स्थानीय तह बनेको छ । महालेखा परिक्षकको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा सोलुदुधकुण्ड नगरपालिका देशभरबाट बेरुजु कम हुने पालिकाको दोस्रो स्थानमा परेको हो ।

उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०-८१ मा नगरपालिकाको कुल १ अर्ब ५८ करोड २२ लाख ४५ हजार रुपैयाँ बराबरको बजेटको लेखापरीक्षण गर्दा जम्मा ०.०१ प्रतिशत, अर्थात् १ लाख २१ हजार ८ सय रुपैयाँ मात्र बेरुजु देखिएको छ ।

यस उपलब्धिले सोलुदुधकुण्ड नगरपालिकालाई देशभरका ७ सय ५३ स्थानीय तहमध्ये राष्ट्रिय स्तरमा दोस्रो र कोशी प्रदेशमा पहिलो स्थानमा पुर्याएको छ । नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै लेखेको छ, ‘यो उपलब्धि कुनै संयोग नभई सक्षम, जिम्मेवार र जनप्रतिबद्ध नेतृत्वको प्रतिफल हो । हाम्रो नेतृत्व लोकतान्त्रिक अभ्यासमा आधारित छ, जसले पारदर्शिता, सेवामुखी शासन र जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राखेको छ ।’ नगरपालिकाले निरन्तर रूपमा जनउत्तरदायी, पारदर्शी र परिणाममुखी स्थानीय शासनको अभ्यास गर्दै आएको नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । यस्तै, नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ्ले नगरपालिकाको सुशासन र वित्तीय अनुशासनप्रतिको प्रतिबद्धतालाई पुष्टि गर्ने खालको प्रमाण स्वरूप महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको बताउनुभयो ।