काठमाडौं । सबै नेपाली नागरिकलाई पेन्सन दिनेगरी नागरिक लगानी कोषले ‘नागरिक पेन्सन योजना’ ल्याएको छ । यो योजनाले सबै नागरिकलाई समेट्ने बताइएको छ । मासिक ५ सय रुपैयाँ बचत गरेर यस योजनामा सहभागी हुन पाइने कोषले जनाएको छ । त्योभन्दा माथि १० ले भाग जाने जतिसुकै रकम बचत गर्नेगरी योजनामा सहभागी हुन सकिने कोषले जनाएको छ ।
६० वर्ष पुरा भएपछि बचत गरेको रकमकै आधारमा बचतकर्ता व्यक्तिले पेन्सन पाउनेछन् । बचत रकम अनुसारको पेन्सन रकम हुने भएकाले जति धेरै रकम बचत भयो, त्यति नै बढी पेन्सन प्राप्त हुने नागरिक लगानी कोषले जनाएको छ ।
यदि बचतकर्ता कसैले बीचमा नै छाड्न चाहेमा उक्त व्यक्तिको बचत रकम र सो रकमबाट प्राप्त ब्याजसहित फिर्ता हुने बताइएको छ । तर यस योजनामा सहभागी भएको कम्तिमा २ वर्षसम्म भने छाड्न नपाइने बताइएको छ ।
कृषि, मजदुरी गर्ने, आफ्नो जुनसुकै व्यवसाय भएका विभिन्न क्षेत्रमा कार्यरत नागरिक यस योजनामा सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुनका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि बचत गर्न सकिने भएपनि बचत रकम मासिक कम्तिमा ५ सय हुनुपर्ने बताइएको छ ।
यस कार्यक्रमले सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने र सो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्न सघाउ पुग्ने पनि कोषले जनाएको छ । नागरिक लगानी कोष विनियमावली, २०४८ को विनियम ३२ ले दिएको अधिकार प्रयोग गरी सञ्चालक समितिले कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताइएको छ।