× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
अन्य

अतिरुद्र विश्वकल्याण विराट महायज्ञको समापन सम्पन्न

Simrik Online

२८ कार्तिक २०८१, बिहीबार

देविका ढकाल, काठमाडौं । भृकुटीमण्डप काठमाडौंमा नेपालका ७० भन्दा बढी गरुकुलमा अध्ययनरत साधक बटुकद्वारा सामुहिक रुद्री पाठ गरि गरिएको अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न भएको छ ।
नेपाल महर्षि वैदिक फाउन्डेसनले नेपालमा सञ्चालित ९० वटा गुरुकुलमा सञ्चालन भैरहेको दैनिक रुद्राभिषेकको संख्या अतिरुद्र बराबर पुगेको सुअवसरमा विश्वशान्ति अतिरुद्र विराट महायज्ञ अनुष्ठानको उद्यापन तथा महर्षि महेश योगी नेपाल आगमनको ५० औं स्वर्ण महोत्सवको उपलक्ष्यमा कार्तिक २१ गतेदेखि २५ गतेसम्म ११ सय ११ जना वैदिक वटुकहरूको समुपस्थितमा ८१४ जना वटुकहरूद्वारा अतिरुद्र (१४,६४१ आवृत्ति रुद्री), चार वेद, शतचण्डी (१०० आवृत्ति चण्डी), अतिरुद्रको दशांस (१४६५) हवन एवं शिवपञ्चाक्षरी मन्त्र जप – ५० जनाद्वारा र गायत्री मन्त्र जप – २४ जना सहित विभिन्न सूक्त पाठका लागि समेत अन्य जनशक्तिको परिचालन गरिएको अतिरुद्र विश्व कल्याण विराट महायज्ञ आयोजक समितिका महासचिव भरतराज पौडेलले बताएका छन् ।
महायज्ञमा दैनिक १० हजारभन्दा बढी श्रद्धालु भक्तजनहरुले सहभागिता जनाएको आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले महायज्ञमार्फत नेपालले विश्वशान्ति र वैदिक विचारको प्रबर्द्धनमा महत्वपूर्ण योगदान गरेको बताए । ‘यो महायज्ञले नेपाल र नेपालीको शिर उँचो बनाएको छ, हाम्रो वैदिक र यज्ञ परम्पराको विश्वभर ध्यानाकर्षण भएको छ ।’ बाँस्कोटाले भने । उनले महायज्ञका दौरान आयोजित प्राङ्गारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान सम्मेलन एवं भावातीत ध्यान शिविर पनि सफलताका साथ सम्पन्न भएको बताएका छन् । महायज्ञका दौरान वैदिक बटुकहरुबाट विधिपूर्वक १५ लाख दीप प्रज्जवलन गरिएको थियो ।
नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीको प्रमुख आतिथ्यता सहित विभिन्न साधुसन्त सहित दर्जन  बढी बढी ब्यक्तिबाट उद्घाटित, नेपाल  महर्षि वैदिक फाउन्डेसनक‍‍ो आयोजनामा भएको यस विराट महायज्ञको आयोजक समितिको अध्यक्ष पुर्व गृहराज्यमन्त्री दिपकप्रकाश बाँस्कोटा, महासचिव भरतराज पौडेल रहेका थिए भने कार्यसम्पादन समितिमा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा.रामचन्द्र अधिकारी, हिन्दु जागरण राष्ट्रिय सञ्जालका अध्यक्ष हरिबोल भट्टराई, सनातन धार्मिक समितिका अध्यक्ष पुष्पराज पराजुली, विश्व हिन्दु महासंघ केन्द्रीय समितिका महासचिव शम्भुहरि बास्तोला, हिन्दु गोरक्ष अभियान नेपालका अध्यक्ष देवीप्रसाद आचार्य, पुर्व सुरक्षाकर्मी संघका उपाध्यक्ष पुष्पाखर गौतम, समाजसेवी शेखर पौडेल, समाजसेवी धर्मानन्द श्रेष्ठ, समाजसेवी समीक्षा बाँस्कोटा लगायत रहेका थिए ।
महायज्ञको समापन समारोहमा बोल्दै विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितका अध्यक्ष रामचन्द्र अधिकारीले नेपालमा धर्म रुपान्तरणको क्रमलाई रोक्न आह्वान गरे । उनले हिन्दु धर्मले विश्वलाई नेतृत्व गर्न सक्ने भएकाले नेपाललाई संसारको गुरुराष्ट्र बनाउने अभियान सफल पार्नुपर्ने बताए ।