दाङ । प्रदेश नं. ५ को स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेश सभामा पेस भएको छ । प्रदेश ५ को राजधानी र नामकरणको विषय पेचिलो बनिरहेको अवस्थामा सरकारले आज प्रस्ताव पेस गरेको हो ।
प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी दाङ र प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेका छन् । मन्त्री केसीले प्रदेश सभा बैठकमा पेस गरेको प्रस्तावमा प्रदेशको राजधानी दाङ जिल्लाको राप्ती र गडवा गाउँपालिका तथा अर्घाखाँचीकाे शीतगंगा नगरपालिकाले चर्चेको राप्ती नदी किनारको मैदाने भाग राप्ती उपत्यका देउखुरीलाई प्रदेशको स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।
प्रदेश मन्त्री केसीले प्रदेशको नाम शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीका नामबाट प्रदेशको नाम लुम्बिनी नामकरण गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।
सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको बताइएको छ । अध्यक्षद्वयबीच गत मंगलबारको छलफलमा प्रदेशको स्थायी राजधानीबारे सहमति जुटेको नेकपा उच्च स्रोतले जनाएको छ ।
आज बसेको प्रदेश ५ को मन्त्रिपरिष्द्को बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । साथै प्रदेश सरकारले यो निर्णयलाई प्रदेश सभामा छलफलका लागि दर्ता गरिसकेको छ । प्रदेश सभालाई तीनदिन भित्र यो प्रक्रिया टुंग्याउने पार्टीले निर्देशन दिएको नेकपा उच्च स्रोतले जनाएको छ ।
लामो सयम पार्टीभित्र सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोक्न बाँकी छ । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्ने विषयमा शिर्ष नेता तथा प्रदेश ५ को प्रदेशसभामा मतभेद देखिँदै आएको थियोे।
प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपा इञ्चार्ज शंकर पोखरेलले सुरुदेखिनै दाङलाई प्रदेशको राजधानी बनाउने पक्षमा लविङ गर्दै आएका छन् । पार्टी एकीकरण हुनुअघि पूर्वमाओवादीले प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय गरेको थियो ।
नेकपा महासचिव विष्णु पौडेल लगायतका पूर्वएमाले खेमाका नेताहरुले भने बुटवललाई नै राजधानी बनाउने अडानमा थिए ।
प्रदेशको स्थायी राजधानी अर्घखाँचीको शितगंगा तथा दाङको राप्ती र गरुडा गाउँपालिका भित्र पर्नेगरी भालुवाङमा राख्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुटेको नेकपा उच्च स्रोतले बताएको छ ।