सोलुखुम्बु । बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासको समूहले शनिबार खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमालको सफल आरोहण गरेको छ । ६ हजार १ सय १९ मिटर अग्लो हिमालको शनिबार बिहान ८ बजेर ५० मिनेटमा आरोण गरेको आरोहणको व्यवस्थापन गरेका सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिएका छन् ।
गत भदौ ३१ मा विशेष विमानबाट काठमाडौं अवतरण गरेका बहराइन राजकुमार शेख मोहम्मदसहितको १८ जनाको टोलीले खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्ने कार्यतालिका रहेको बताइएको छ । राजकुमार टोली नेपालमा करिब २ महिना रहनेछ ।
भदौ १४ मा बसेको मन्त्रिपरिषद् बैठकले सेप्टेम्बर १५ मा बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३ जना बेलायती नागरिक गरी १८ जनाको टोलीलाई नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणको गर्ने अनुमति दिएको थियो । सरकारले लकडाउनपछि जारी सिजनमा नेपालमा पहिलो हिमाल आरोहण अनुमति दिएको थियो । जारी सिजनको यो पहिलो आरोहण हो ।