× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

स्थायी समिति बैठक भोलि, दोस्रो अध्यक्षको प्रस्ताव अस्वीकार्य : महासचिव पोखरेल

Simrik Online

१४ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वरिष्ठनेता माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्। शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५को कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएका हुन्। उनले कार्यदलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैैजानुपर्नेमा आफूहरुको जोड रहेको पनि स्पष्ट पारे।

‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैैन। पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ’, उनले भने, ‘हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं। त्यसमा जाँदाखेरी त्यसबेलाको विद्यमान विधान र नियमावलीमा के छ? त्यसले अनुमति दिने, त्यसले स्वीकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नु पर्‍यो नि, सबैले।’ यसैगरि, उनले पार्टीभित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए। त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ। पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी समेत दिए।

यस्तै एमालेले शनिबार (भोलि) पार्टी स्थायी समिति बैठक बोलाएको छ। बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ। माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर महाधिवेशनमा केन्द्रित हुन आफूहरुले चाहिरहेको महासचिव पोखरेलको भनाइ छ।