रुकुम पश्चिम । आठबीसकोट नगरपालिका–१४ ज्यामिरकोटको जनविकास माध्यमिक विद्यालय दसैं–तिहारको करिब एक महिना लामो बिदापछि गत सोमबारबाट खुल्यो । सधैंझैं घण्टी बज्यो, विद्यार्थी आए र प्रर्थना समय सुरु भयो । लामो बिदापछि विद्यालय खुल्दा जुन प्रकारको उत्साह हुन्थ्यो, त्यो देखिएन ।
प्रर्थना समय सुरु भएपछि प्रधानाध्यापक दिपक संमग थापाले विद्यार्थीहरुलाई लाईन लगाउँदै भने, ‘भाईबहिनीहरु यसबीचमा भूकम्प गएको तिमीहरुलाई थाहै छ । हाम्रो घरदेखि स्कुलसम्म यसले क्षति गरेको छ । यसैमा परेर हामीले हाम्रा ३ जना साथीहरु पनि गुमायौं ।’ यो भनिरहँदा भन्दा उपस्थित शिक्षक तथा विद्यार्थी मौन भए, दु:खित बने । अनि थापाले थप्दै विद्यार्थीहरुलाई १ मिनेट मौनधारणका लागी अनुरोध गरे । आफूसँगै पढ्न आउने साथीको सम्झनामा विद्यार्थीहरुले मौनता तोड्दै हिक्क.. हिक्क.. गर्न थाले । मौनधारण सकियो तर भूकम्पमा परी ज्यान गुमाएका साथीको सम्झनमा शिक्षक र विद्यार्थीको रोदन सकिएन ।
यस विद्यालयमा अध्ययनरत कक्षा ८ का १४ वर्षिय विराज मल्ल र प्रेमा मल्ल तथा कक्षा ५ की ११ वर्षिया चन्द्रकला मल्लको भूकम्पमा परी घरमै ज्यान गएको प्रअ थापाले जानकारी दिए । ‘हाम्रो विद्यालय परिवारमा प्रायःले केही न केही क्षति बेहोर्नु परेको छ । हामी शिक्षक अनि विद्यार्थीको धेरैको बास त्रिपालमै छ । यता स्कुल पनि त भत्किएको छ ।’
यस विद्यालयका जम्मा ७ वटा भवनमध्ये २ वटामा पूर्ण क्षति पुगेको छ । यसकारण कक्षाकोठा अभाव हुदाँ खुला आकाशमुनि पठनपाठन गर्नुपर्ने बाध्यता रहेको थापाले बताए । कुल ३ सय १५ जना विद्यार्थीमध्ये पहिलो दिन मुस्किलले करिब ८० जनाजति मात्रै आए ।
जाजरकोटमा २ सय ८९ वटा विद्यालय भवनमा पूर्ण क्षति पुगेको छ भने, ५ सय ९८ वटा भवन आंशिक क्षति भएका छन् । साथै १५ सय ९९ कक्षाकोठा भूकम्पका कारण क्षतिग्रस्त भएको पनि सामाजिक विकास कार्यालय जाजरकोटको तथ्यांक छ । भूकम्पमा परी जाजरकोटका २४ जना विद्यार्थी र १ जना शिक्षकको समेत ज्यान गएको प्रमुख खत्रीको भनाई छ ।
त्यस्तै रुकुम पश्चिममा ४८ वटा विद्यालयमा पूर्ण क्षति र २८ वटा विद्यालयमा आंशिक क्षति पुगेको सामाजिक विकास कार्यालयको तथ्यांक छ । जसका कारण १ सय ९३ वटा कक्षाकोठामा पूर्ण क्षति पुगेको छ । साथै भूकम्पमा परी १८ जना विद्यार्थीले ज्यान गुमाएका छन् भने १ जना विद्यालय कर्मचारीको समेत मृत्यु भएको बताईएको छ ।
लामो विदापछि समेबारदेखी खुलेका विद्यालयहरुमा अब पठनपाठन के–कसरी सुरु गर्ने भन्ने अलमल रहेको आदर्श मावि आठबीसकोट–१४ बाँके पिपलगैराका प्रधानाध्यापक तिलकनारायण मल्ले बताए । ‘हाम्रो विद्यालयका जम्मा ८ वटा भवनमध्ये ५ वटामा पूर्णरुपमा क्षति पुगेको छ । विद्यार्थी राख्ने ठाउँ नै छैन यसकारण हामीले मंगलबारदेखि मात्रै पठनपाठन गर्यौं । तर कसरी गर्ने केही मेसो आएको छैन,’ उनले भने, ‘कहाँ पढाउने ? कक्षाकोठा नै छैनन् । विद्यार्थीको न घर छ, न स्कुल सबैलाई खुला आकाशमुनी राखेर सान्त्वना दिने काम भएको छ । यसरी संधै त कसरी चल्ला र !’
क्षतिग्रस्त विद्यालयहरुमा अस्थायी कक्षाकोठा बनाउने विषयमा सरोकारवालाले ध्यान नदिएको भन्दै भेरी दोभान मावि भेरी नगरपालिका–१ रिम्ना जाजरकोटका प्रधानाध्यापक प्रेम बहादुर पुनले पनि विद्यार्थीलाई कहाँ राख्ने भन्ने समस्या भईरहेको बताए । ‘हाम्रो त जम्मा ५ वटा भवनमध्ये सबैमा क्षति पुगेको छ । केही उपाय नै छैन ’ उनले भने, ‘सोमबार पहिलो दिन विद्यार्थी आएर रातभरी त्रिपालमुनी सुतेर स्कुलमा आएर घाममा कसरी कस्ने भनेर प्रश्न गरेर गए । तर हामीसँग जवाफ छैन ।’
आठबीसकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख ईन्द्रबहादुर विष्टले सोमबारदेखि पठनपाठन सुरु गर्न सबै विद्यालयलाई निर्देशन गरिएको बताए । क्षति भएका विद्यालयहरुमा तत्काल अस्थायी सिकाई केन्द्र बनाउन सुरु गरिएको उनको भनाई छ । ‘विद्यालयहरुमा क्षतिको तथ्यांक संकलन गरी आवश्यकताको पहिचान समेत गरिएको छ । अब अस्थायी सिकाई केन्द्र बनाउनेगरी अघि बढ्ने योजना छ’ उनले भने, ‘अहिलेसम्म पाँच वटा विद्यालयमा अस्थायी सिकाई केन्द्र बनाईसकिएको छ । यो क्रम जारी छ ।’ सिकाई केन्द्र बनाउनका आवश्यक पर्ने सामग्रीका लागि दाताहरुलाई अनुरोध गरिएको उनले बताए ।
घरदेखि विद्यालयसम्म क्षतिको दृश्य देखेका विद्यार्थीहरुमा त्रासको अवस्था छ । भेरी दोभान मावि रिम्नाकी छात्रा सृष्टि परियारले पहिलो दिन स्कुल आउदाँ डर लागेको बताईन् । ‘हामी बस्ने कक्षाकोठा भत्किएको देख्दा र साथीभाईको मृत्यु भएको सुन्दा डर लाग्यो’ उनले भनिन् ।
भूकम्पका कारण विद्यालयहरुमा भएको भौतिक क्षति र शिक्षक–विद्यार्थीहरुमा देखिन सक्ने मानसिक समस्यालाई हल गर्न सरकारले ठोस योजना बनाएर अघि बढ्नुपर्ने आदर्श माविका व्यवस्थापन समिति अध्यक्ष हुकुमबहादुर पुनको धारणा छ । वडाअध्यक्ष समेत रहेका पुनले स्थानीय सरकारका तर्फबाट आफूहरुले सकेको पहल गरिरहेको भएपनि विद्यालयको अवस्थालाई सामान्यीकरण गर्न तिनै तहका सरकार र शिक्षा क्षेत्रमा काम गरिरहेका निकायहरुको भूमिका ठूलो हुने बताए । ‘विद्यालयहरुमा ठूलो क्षति भएको छ । यसको परिपुरण र समाधान गर्दै अवस्थालाई सामान्यकरण गर्न सबैको हातेमालो जरुरी छ’ उनले भने । – (कान्तिपुरबाट)