× गृहपृष्ठ समाचार मुख्य खबर राजनीति आर्थिक मनोरञ्जन खेलकुद स्थानीय अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा/संस्कृति सम्पादकीय नेपाली युनिकोड
फिचर

गौतमलाई राष्ट्रियसभामा लगिने, अरु निर्णय यस्ता छन्

Simrik Online

१७ भाद्र २०७७, बिहीबार

वासुदेव न्यौपाने, काठमाडौं । बामदेव गाैतमलाई राष्ट्रियसभाकाे सदस्यमा लैजाने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकलाई जानकारी गराउनुभएकाे छ । बैठकमा प्रधानमन्त्रीले रिक्त राष्ट्रियसभा सदस्य पदमा सरकारका तर्फबाट राष्ट्रपति समक्ष गाैतमकाे नाम सिफारिस गर्ने जानकारी गराउनुभएकाे नेकपा प्रवक्ता नारायण काजि श्रेष्ठले बताएका छन् ।

संवैधानिक प्रावधान अनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ । सरकारको तर्फबाट गरिएको सिफारिसका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो ।

यसअघि राष्ट्रियसभामा राष्ट्रपतिबाट नियुक्त भएका सदस्यहरु डा.युवराज खतिवडा, रामनारायण बिडारी र बिमला राई पौडेल हुन् । त्यसमध्ये डा.खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

सचिवालय बैठकमा देशमा काेराेनाकाे सङ्कट तथा बाढी पहिराेमा भएकाे धनजनकाे क्षतिप्रति दुख व्यक्त गरिएकाे प्रवक्ता श्रेष्ठले बताएका छन् । यसैबीच बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमा पनि प्रारम्भिक छलफल भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

सचिवालय बैठकले राहत, उद्धार र पुनर्स्थापनाको कामलाई छिटोछरितो बनाउन सरकार र उद्धार तथा पुनर्स्थापनामा जुट्न पार्टी पङ्तिलाई आग्रह गरेको बताइएको छ ।

पार्टीको एकता महाधिवेशनको काम पनि सँगसँगै अगाडि बढाउने र पार्टीलाई एकताबद्ध बनाएर सरकारको काम प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
नेकपा सचिवालयमा अध्यक्षद्वय ओली र प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेल तथा नेताहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा रहेका छन् ।