खजुरा (बाँके) । नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ । मन्दिरको फाउन्डेसन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमानगरपालिकाका इञ्जिनीयर सुरज शर्माले बताएका छन् । उनका अनुसार हनुमानको खुट्टा ढलानको काम सम्पन्न भइसकेको छ ।
उपमहानगरपालिका–२ हनुमानगढीस्थित बालदा तलाउमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण हुन लागेको हो । उपमहानगरपालिकाले जम्बुदिप कन्स्ट्रक्सन प्रालि काठमाडौँलाई २ वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने गरी १७ मार्च २०२३ मा सम्झौता गरेको थियो । मूर्ति निर्माणका लागि भ्याटसहित १० करोड ११ लाख ५२ हजार ४ सय ९४ रुपैयाँमा ठेक्का सम्झौता भएको इञ्जिनीयर शर्माले बताए ।
नेपालगञ्जमा धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि ऐतिहसिक हनुमानको मूर्ति बनाउन थालिएको हो । भारतको अयोध्यामा राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै आयोध्यासँग नेपालगञ्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले नेपालगञ्जको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गर्दै अयोध्यासँगको आध्यात्मिक ‘कनेक्सन’मा यो मूर्ति कोशेढुङ्गा सावित हुने बताएका छन् ।