सोलुखुम्बु । तिंङ्लाबाट पक्राउ परेका नेपाल तरुण दलका कार्यकर्ताहरुलाई तत्काल रिहाई गर्न नेपाली कांग्रेस सोलुखुम्बुले माग गरेको छ । आफ्ना भातृसंस्थाका कार्यकर्ताहरु माथि प्रशासन बाट निरन्तर भइरहेको दमन नरोकिए आफूहरु आन्दोलनमा उत्रने चेतावनी सोलु कांग्रेसले दिएको छ ।
जिल्ला कार्य समितिका सह-सचिव कुशराज राईले एक विज्ञप्ति जारी गर्दै सत्ताका आडमा प्रहरी प्रशासनले कांग्रेस नेता कार्यकर्ता माथि दमन गरेको बताउदै यस्तो चेतावनी दिएका हुन् ।
विपक्षी दलका कार्यकर्ताहरु अन्यायमा पर्दा उजुरी दर्ता समेत नगरेेर प्रहरी प्रशासन मूकदर्शक बनिरहेको, सत्ता र शक्तिको दबाव र प्रभावमा नियोजित ढंगले कांग्रेस कार्यकर्ताहरुलाइ फसाउन खोजेर शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले नै संस्थागत रुपमा राजनीतिक र सामाजिक सद्भाव भड्काउन खोजेको सहसचिव राईले बताएका छन् । नियोजित रुपमा प्रहरी प्रशासनबाट भइरहेका यस्ता घटनाबाट दण्डहिनता बढेको निष्कर्ष समेत सोलु कांग्रेसको छ ।