काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँमा सुरु भएको विश्व संस्कृत सम्मेलनमा संस्कृत भाषामा नै सम्बोधन गरेका छन्। उन्नाइसौँ विश्व संस्कृत सम्मेलनमा विश्वका विभिन्न स्थानका विश्वविद्यालयका कुलपति र उपकुलपतिलगायतलाई बिहीबार उनले संस्कृत भाषामा सम्बोधन गरेका हुन्।
सम्बोधनका क्रममा उनले पछिल्लो समय संस्कृतिको पुनर्जागरणप्रति सचेतता बढ्दै गएको उल्लेख गरे। यसलाई उनले शुभसंकेतको रूपमा वर्णन गरका थिए।
‘यो भूमि पुनः वैदिक वातावरण सिर्जनाको बाटोमा अघि बढिरहेको छ। यसमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अपेक्षित छ,’ संस्कृत भाषाको महत्त्वबारे चर्चा गर्दै उनले भने, ‘संस्कृत भाषा नेपालमा केवल भाषा मात्र होइन, यो त शासन, साहित्य, जीवन दर्शन र सामाजिक संरचनाको आधार हो। नेपालको हावा, पहाड, नदी, हिमाललगायत सम्पूर्ण वातावरण साधकका लागि ऊर्जा दिने खालको छ।’
विश्वका २० भन्दा बढी विश्वविद्यालयका कुलपति तथा उपकुलपति, तथा विविध शास्त्रका ज्ञाताहरूको सहभागिता उल्लेखनीय भएको बताउँदै मन्त्री पाण्डेले सम्मेलनलाई पूर्वीय ज्ञान र वैदिक चिन्तनको ‘महाकुम्भ’को संज्ञा दिए।
सम्मेलनमा सहभागीहरूलाई उनले नेपालका धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्न आग्रह गरेका थिए। ‘यहाँ (नेपालमा) वैदिक मन्त्रहरूको गुञ्जन सुनिन्छ। पशुपतिनाथ, लुम्बिनी, गण्डकी नदी र जनकपुरमा लगायतका सम्पदाको महत्त्व बहुआयामिक छ। आज पनि वैदिक संस्कार र संस्कृतिको दिव्य अनुभूति पाउन सकिन्छ।’
मन्त्री पाण्डेले पाणिनि, कपिलमुनि, वेदव्यास, वाल्मीकि, राजर्षि जनक, याज्ञवल्क्य र भगवान गौतम बुद्धजस्ता महापुरुषहरूले नेपालमा गरेको योगदान स्मरण गरेका थिए।
यस्तो छ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको सम्बोधनको पुर्णपाठ :