काठमाडौं । विभिन्न सञ्चारमाध्यम सहित सामाजिक सञ्जालमा कुलमान घिसिङ फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको भन्ने हल्ला व्यापक भएको बेला ऊर्जा मन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट कुनै प्रस्ताव समेत नगएको बताएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार यसबारे मन्त्रालय अझै निष्कर्षमा पुगिसकेको छैन । मंगलबार मन्त्रिपरिषद्को बैठक भएपनि यसबारे कुनै एजेण्डा नरहेको मन्त्रालय स्रोतको भनाइ छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदैछ । उनी आउनुअघि देशले दैनिक १८ घण्टासम्म लोडसेडिङ खेप्नु परेको थियो । उनी नेतृत्वमा आएसँगै देश लोडसेडिङ मुक्त बनेपछि उनलाई फेरि सोही पदमा दाहोर्याउनु पर्ने माग सामाजिक सञ्जालमा ब्यापक हुँदै आएको छ । यसो त घिसिङ नेतृत्वमा आएपछि प्राधिकरण नाफामा समेत गएको छ ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा भदौ २९ गतेसम्म म्याद रहेका कुलमान घिसिङ सहित मुकेश काफ्ले, नवीनराज सिंह, हितेन्द्रदेव शाक्य, सुशील ज्ञवाली, हरराज न्यौपाने, शान्तिलक्ष्मी शाक्य लगायत केही आकांक्षीहरु अहिले दौडधुपमा छन् ।
मंगलबार एकाएक सामाजिक सञ्जालमा केवल दबाब दिनका लागि मात्रै कुलमान घिसिङको पुनः नियुक्ति भएको भन्ने हल्ला फैलाएको पाइएको छ ।